• नमोबुद्ध संवाददाता,

तेमाल-काभ्रेको तेमाल गाउँपालिकाको कार्यालयमा कार्यरत एक कर्मचारीमा नोवल कोरोना भाइरस कोभिड १९ पुष्टि भएपछि गाउँ कार्यपालिकाको कार्यालय नारायणस्थानबाट दिदै आएको सेवा बन्द गरिएको छ ।

काठमाडौंमा परीक्षणका क्रममा शनिबार ति कर्मचारीमा कोरोना पुष्टि भएपछि पालिकाका अतिआवश्यक बाहेकका सामान्य सेवाहरु हाललाई स्थगित गरिएको पालिका अध्यक्ष सलाम सिं तामाङले स्पष्ट पार्नुभयो ।

अध्यक्ष तामाङले तेमालमा ८  वर्षदेखी स्वास्थ्य क्षेत्रमा कार्यरत ति कर्मचारी तेमालको स्थानीय नागरिक नभएको जनाउनुभयो ।

यस्तो स्थिति आएकोमा दुख व्यक्त गर्दै उहाँले नआत्तिन तर आवश्यक सावधानी अपनाउन र मनोबल दह्रो पार्न सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि र तेमालबासीमा अनुरोध गर्नुभयो ।

वडा कार्यालयहरुमार्फत हुने कामहरु भने यथावत नै रहेको पालिका अध्यक्ष तामाङले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले अध्यक्षस्तरीय निर्णयबाट आइतबारदेखि बन्द गरिएका पालिका कार्यालय पोखरी नारायणस्थानबाट दिइदै आएका सेवाहरु मङ्सिर ३ गतेबाट सुचारु हुने जानकारी दिनुभयो ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख (स्वास्थ्य अधिकृत) शिवहरि पाठकका अनुसार कोरोना संक्रमण पुष्टि भएका ति कर्मचारीलाई काठमाडौंमा चेकजाँचका क्रममा कोरोना पुष्टि भएकोले काठमाडौंमै होम आइसोलेसनमा राखिएका छन् ।

जनस्वास्थ्य कार्यालय धुलिखेलका अनुसार सुरुमा उनलाई रुघाखोकी थियो, शुक्रबार धुलिखेलको एक स्वास्थ्य गोष्ठीमा सहभागी भई काठमाडौं छिरेका उनको यो समस्या थप बढेपछि कोरोना आशंकामा जाँच गर्दा पोजेटिभ देखिएको हो ।

सोही कर्मचारी संक्रमित भएबाट पालिकाका २५ जनाभन्दा बढी कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेको स्वास्थ्य शाखा प्रमुख पाठकले जनाउनुभयो । कोरोना लक्षण देखा परे वा आवश्यकताको आधारमा ति कर्मचारीहरुको धुलिखेल अस्पतालमा पिसिआर जाँच गराउने पाठकले बताउनुभयो ।

हालसम्म पालिकाभित्रका ५ नागरिकमा कोरोना पुष्टि भएको जानकारी दिदै पाठकले उनिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रहसाथ होम आईसोलेसनमा राखिएकोमा सवैको अवस्था सामान्य रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !