• नमोबुद्ध संवाददाता, 

धुलिखेल-तामाङ चलचित्र जगतकी नायिका रोशनी ब्लोन सामाजिक सेवामा पनि उत्तिकै चासो राख्नुहुन्छ । भुकम्प, बर्षातको डुवान, बाढी पहिरो होस् वा अन्य प्राकृतिक विपत्तिका बेला राहत सामाग्री लिएर पुग्ने नायिका ब्लोन विद्यार्थी बालबालिकाहरुको पनि सारथी बन्नुहुन्छ ।

यो पटक नायिका ब्लोनका साथमा गायक तथा संगीतकार प्रतिक ब्लोनको टोली मकवानपुरको बकैया गाउपालिकाको वडा नम्बर १ ढिकीफेदीस्थित वनदेवी कालिका प्राथमिक विद्यालय पुग्यो । उहाँहरू यो विद्यालयका ६० विद्यार्थी बालबालिकाहरुका लागि शैक्षिक सामाग्री लिएर पुग्नुभएको हो ।

विद्यालयमा अध्ययनरत अति बिपन्न विद्यार्थीलाई ब्याग सिसाकलम,कापी, इलेजर जनही रुपमा वितरण गर्नुभयो । ‘हाम्रो भाषा संस्कृति,हाम्रो पहिचान’ भन्ने अभिप्रायले क्रियाशील तामाङ परिवार सेवा समाज काठमाण्डौंसँग समन्वय गरी उहाँले यि शैक्षिक सामाग्री बालबालिकाहरुलाई उपलब्ध गराउनु भएको हो ।

“अशिक्षित गरिब र निमुखा समुदायका बालिकाहरूलाई लक्षित गरी यो सहयोग गरेका छौं ।” नायिका ब्लोनले भन्नुभयो-“समुदायको विकासको मुख्य आधार शिक्षाको विकल्प छैन,अहिले यो कोरोना भाइरसको कारण बन्द विद्यालय खुलीसकेपछी यस्तै संघसंस्था सँग सहकार्य गरी स्कुल ड्रेस पनि उपलब्ध गराउने छु ।” नायिका ब्लोनले शिक्षा बिनाको मान्छे अन्धो जस्तै हुने भएकोले शिक्षामा सबै पक्षको साथ जरुरी रहेको बताउनुभयो ।

नायिका ब्लोनको यो सत्कर्म प्रति आभार प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक सरलकुमार कछडियाले यसप्रकारको सहयोगको प्रतिफल सकारात्मक देखिने धारणा राख्नुभयो ‌।

 

प्रतिक्रिया दिनुहोस !