
नमोबुद्ध संवाददाता,
तेमाल-काभ्रेको नमोबुद्ध नगरपालिका ५ कोटतेमालस्थित रक्तकाली मन्दिरको आइतबार प्रदेश सांसद रत्न ढकालले उद्घाटन गर्नुभएको छ ।
तेमालका ऐतिहासिक राजा ह्रेन्जेन दोर्जे तामाङको दरबार, सैनिक तालिम स्थल तथा कोट रहेको केन्द्रमा तत्कालीन तामाङ राज्य र तिनको सभ्यतामाथि धावा बोल्न स्थापना गरिएको भनिएको यो मन्दिर २०७२ को भुकम्पले केहि हदसम्म जिर्ण बनेको थियो ।
पुरातत्व विभागको मापदण्ड अनुसार यसको मर्मत सम्भार भन्दा पनि पूर्ण रुपमा भत्काएर सोही ढाँचामा नयाँ संरचना खडा खरेपछि उद्घाटन गरिएको हो ।
स्थानीय सरकार र बागमती प्रदेशको सहयोगमा पुनर्निर्माण गरिएको यो मन्दिरलाई स्थानीयले शक्ति पिठको रुपमा मान्दछन् ।
स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारको सहकार्यबाट मन्दिरले नयाँ रुप ग्रहण गरेको प्रदेश सांसद ढकालले बताउनुभयो । मन्दिर परिसरबाट तेमाल देखि हिमालय क्षेत्र सम्मका प्राकृतिक छटाहरुको अवलोकन सहजै गर्न सकिने भएकोले यसलाई पर्यटन विकासको पाटोसँग जोड्नुपर्ने उहाँको भनाई छ ।
नेकपा काभ्रेका नेता ईन्द्र तामाङले रक्तकाली मन्दिर तेमालका सबै जनताको सद्भावको प्रतिक रहेको दावी गर्नुभयो ।
मन्दिर ऐतिहासिक रहनुका साथै स्थानीयको आस्थाको केन्द्र रहेकोले संरक्षण गर्नु नगरको दायित्व ठानिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो ।
मन्दिरको हिजो र आजको रुप, तस्वीरमा हेर्नुहोस् ।