• नमोबुद्ध संवाददाता,

भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाका सय भन्दा बढी विपन्न परिवारले दशैं राहत पाएका छन् । नेपाल जेसुइस सामाजिक संस्थाको सहयोगमा नमोबुद्ध नगरपालिकाले नगरभित्रका ११ वटै वडाका १ सय १२ परिवारलाई बिहीबार राहत वितरण गरेको हो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ किलो चना, १ लिटर तेल, १ केजी सोयाविन तथा २ किलो दालसहितको राहतप्याकेज वितरण गर्नुभयो । नगरपालिकाका सबै वडाका अति विपन्न, अशक्त, अपांग तथा एकल महिलालाई राहत दिइएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो ।

राहत लिन उपस्थित भएका विपन्न परिवारका सदस्यहरुले यो राहतले आफूहरुको दशैं राम्रो हुने भन्दै खुशी व्यक्त गरेका छन् । नमोबुद्ध नगरपालिकाले कोभिड १९ महामारी सुरु भएयता वितरण गरेको यो चौंथोपटकको राहत हो । यसअघि नगरपालिकाले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा राहत वितरण गरिसकेको छ ।

कोभिड १९ को महामारीका कारण पीडित विपन्न परिवारलाई दिइएको राहतले उनीहरुको पनि दशैं उल्लासपुर्ण हुने अपेक्षा नगर प्रमुख तिमल्सिनाको छ । आफूहरु नगरबासीको हितमा सधैं क्रियाशिल रहेको दावी गर्दै तिमल्सिनाले सहयोग र राहत आगामी दिनमा पनि उपलव्ध गराउँदै जाने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !