• नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ स्थित बोहोरदोभान ठूलोपर्सेल सडक खण्डको ‘दावापहरा’ मा दुई साताअघि झरेको पहिरो पन्छाइएको छ । तेमाल गाउँपालिकासँग समन्वय गरि वडा नम्बर १ को कार्यालयले दुई दिन लगाएर एस्काभेटरद्धारा पहिरो पन्छाएको हो ।

बारम्बार पहिरो झर्ने र सडक अबरुद्ध हुने जस्ता सास्ती दोहोरिरहेपछि प्राविधिक स्टिमेट पश्चात मात्रै पहिरो पन्छाएको वडाध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।गत शनिबार वडाध्यक्षले प्राविधिक रामप्रसाद दाहालमार्फत स्टिमेट गराएपछि अनुगमनका लागि सोमबार पालिका अध्यक्ष सलाम सिं तामाङ समेत पहिरो झरेको स्थलमा आउनुभएको थियो ।

वडाध्यक्ष श्रेष्ठकको भनाई अनुसार कोरोना महामारी र वर्षातको बेला पालिकामा रहेको १ जनामात्रै प्राविधिकबाट काम लिनुपर्ने स्थिति रहेकोले पनि ढिलाई भएको हो ।

“यसअघि त्यो बाटोमा ३ पटक जेसीवी लगाएर सफा गरेका थियौं,यो पटक ठूलो ठूलो ढुंगासहितको पहिरो रहेकोले हच्चुवा भरमा सानो जेसीवी डोजर लगाउन नमिल्ने देखियो,पालिकामा एक जनामात्रै प्राविधिक छन्,पालिका अध्यक्षसँग सल्लाह गरी काम परिपक्का तवरले गर्न खोज्दा केहि ढिलाई भएको हो ।”–वडाध्यक्ष श्रेष्ठले भन्नुभयो,“आज बेलुकाबाट सडक सुचारु गर्न सफल भएका छौं ।”

प्राविधि स्टिमेट अनुसार ४५ मिटर लामो,एकातिर १० मिटर र अर्कोतिर ३ मिटर गहिरो पहिरो र सोही सडक खण्डमा झरेका अन्य साना २ पहिरो पनि पन्छाएको वडाध्यक्ष श्रेष्ठले जनाउनुभयो ।

पहिरोले सडक बन्द गराउँदा तेमाल सस्र्यूंखर्कको तल्लो भेग,सरमथली,बोल्दे,ठूलोपर्सेल लगायतका स्थानिय मर्कामा परेका थिए ।

हाल कोरोना महामारीका कारण आवजजावत कम भएपनि यो सडकबाट कृषि उपज बजार पुर्याउन तथा कोही बिरामी पर्दा अस्पताल लैजान समस्या भएको गुनासो स्थानियले गरेका थिए । अहिले यो समस्या हल भएकोमा स्थानिय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !