-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेपालमा एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार एकैदिनमा विभिन्न जिल्लाका गरि हालसम्मकै सबैभन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको र थप १ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ जना पुगेका छन् ।
प्रवक्ता देवकोटाका अनुसार बिहिबार कोरोना संक्रमण पुष्टि हुनेमा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ जना रहेका छन् ।
आज कोरोनाबाट मृत्यु पुष्टि हुनेमा पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ज्यान गुमाएका पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय पुरुष रहेको छ ।उनी १८ गते मात्रै भारतबाट आएर शम्भु माविको क्वारेन्टिनमा बसेका थिए ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई १९ गते अस्पताल लगिएको थियो । त्यही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । २० गते उनको निधन भएको हो ।त्यसको दुई दिनपछि बिहीबार उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कारोना संक्रमणका कारण मृत्यु भएको घोषणा गरेको छ । यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।नेपालमा हालसम्ममा २९० जनाले कोरोना जितेर घर फर्केको प्रवक्ता देवकोटाले बताउनुभयो ।