• नमोबुद्ध संवाददाता

काभ्रे–जिल्लाको तेमालगाउँपालिका र चौरीदेउरालीका अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुमा कोरोनाको प्रारम्भिक परिक्षण आरडिटि पोजिटिभ भएपनि पिसिआर परिक्षणमा नेगेटिभ आएका छन् । धुलिखेल अस्पतालमा गरिएकोे पिसिआर परिक्षणमा तेमाल गाउँपालिकाका एकजना स्वास्थ्यकर्मी र चौरीदेउरालीका अन्य १० जनामा कोरोना नभएको तथा पिसिआर रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी डा.सुमन ताम्राकारले जानकारी दिनुभयो ।

बुधबार उनीहरुको आरडिटि विधिबाट परिक्षण गर्दा पोजिटिभ रिर्पोट आएपछि थप कोरोना परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याएका थिए । यता तेमाल गाउँपालिकामा भने गाउँपालिकाका अधिकारीहरुले आरडिटि परिक्षणमा पनि सबैजना स्वास्थ्यकर्मीहरुको नेगेटिभ रिर्पोट आएको जनाएको स्थानियहरुको गुनासो रहेको थियो । तर शुक्रबार गाउँपालिकाले एक सूचना जारी गरि आरडिटिमा पोजिटिभ आएको स्वीकार गर्दै पिसिआर नेगेटिभ आएको सूचनामा स्पष्ट गरेको छ ।

चौरीदेउराली गाउँपालिकामा भने आरडिटि पोजिटिभ आएर पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपनि ति सबैजना १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने गाउँपालिकाले जनाएको छ । काभे्रमा अन्य स्थानिय तहहरुमा पनि आरडिटि परिक्षणमा पोजिटिभ रिर्पोट आएका थिए तर खुशीको कुरा सबैजनाको पिसिआर परिक्षणमा कोरोना नभएको तथा नेगेटिभ रिर्पोट आएका छन् । यसरी हेर्दा काभ्रे जिल्ला अहिलेसम्म सुरक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस !