-
नमोबुद्ध संवाददाता (काठमाडौं)
कोरोना भाइरसका कारण समस्यामा परेका ५ सय परिवारलाई बौद्धनाथ क्षेत्र विकास समितिले राहत दिएको छ । समितिले राजधानीको बौद्ध क्षेत्रमा बसोबास गर्ने कमजोर आय भएका पीडित परिवारलाई झण्डै एक महिना पुग्ने दाल–चामाल लगायत खाद्य सामाग्री सहयोग गरेको हो ।
त्यस्तै समितिले विश्व सम्पदा बौद्धनाथ क्षेत्रका मुख्य स्थान (कोरजोन), बफरजोन, बौद्ध बजार, फूलबारी, धाराटोल, ग्योइ लिछाङलगायतका क्षेत्रका घर धनीलाई ३ सय ५० थान स्यानीटाइजर, माक्स, पञ्जा र साबुन वितरण गरेको अध्यक्ष चन्द्रमान लामाले बताए ।
उनका अनुसार बौद्धनाथ परिसर, बजार, टुसाल, फुलबारी, तीनचुली, आनन्दपुर, रामहिटी, सेतो गुम्बा, धाराटोल लगायतका क्षेत्रमा पुर्ण निर्मलीकरण (स्यानीटाइज) गरेको छ ।
समितिले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा पाँच लाख रुपैंया सहयोग समेत गरेको छ । समितिका अध्यक्ष चन्द्रमान लामा, सदस्य सचिव वसन्त लामा लगायतको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पाँच लाख रुपैंयाको चेक हस्तान्तण गरेको हो ।
कोरोना भाइरसको संक्रमणकालीन अवस्था न्युनीकरणका लागि आफूहरु महिना दिन अघिदेखि नै सक्रिय रहेको समितिका अध्यक्ष लामाले बताए । समितिले बौद्ध क्षेत्रका होटलहरु अनुगमन गरि विदेशी पयर्टकहरुको अवस्था निरिक्षण समेत गरेको छ ।
सदस्य सदस्य सचिव लामाका अनुसार हाल बौद्ध क्षेत्रका होटलहरुमा २२ जना विदेशी पर्यटक बसिरहेको र उनीहरुको अवस्था सामान्य छ । ‘केही समस्या आयो भने पर्यटन प्रहरीमार्फत समितिलाई खबर गर्नु, उद्धारका लागि तयार छांैं भनेका छौं’ लामाले भने ।