• अलबिदा इरफान खान

काठमाडौं–बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५३ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार भारतीय संचारमाध्यमहरुले दिएका छन् भने निर्देशक सुजित सिर्करले ट्वीटमार्फत जनाएको छ ।

भारतीय संचारमाध्यम इन्डिया टुडेका अनुसार खान कोलन इन्फेक्सनका कारण मंगलबार सो अस्पतालमा भर्ना भएका थिए । गत शनिबार मात्र उनकी आमाको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण खान आमाको मृत्युसंस्कारमा पनि जान नपाएको समाचारहरु प्रकाशन गरेको छ ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। शान्त स्वभावका खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।

बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्रा्ष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस !