नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिका–४ खत्रीडाँडामा रहेको घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएका गोले दिदीबहिनीको उपचारका लागि संकलित १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग हालै हस्तान्तरण गरिएको छ ।
खुशी समाज यूवा क्लवका पदाधिकारी तथा विदेश विभागका सदस्यहरुबाट संकलित सो रकम घाईतेहरुलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको क्लवका अध्यक्ष इकमान लामाले जानकारी दिनुभयो ।
सो सहयोग रकम क्लवका सचिव चन्द्र गोले, घाईतेका आफन्त सुक बहादुर गोले लगायतको उपस्थितिमा क्लवको अध्यक्ष लामाका साथै सल्लाहकार राम बहादुर गोलेले अस्पतालमानै पुगेर घाईतेका बुबा धन बहादुर गोलेलाई हस्तान्तरण गर्नुभएको हो ।
उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना भएका उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार गर्न उक्त रकम सहयोग गरिएको क्लवको अध्यक्ष लामाले स्पष्ट पार्नुभयो ।
सहयोग रकम विभिन्न देशमा रहेका क्लवका सदस्यहरुले संकलन गरि नेपाल पठाएका हुन् । घाईते भएका २० वर्षीय एरिना गोले, १२ वर्षीय सनिसा गोले र ९ वर्षीय एलिसा गोलेको उपचारको लागि सो सहयोग जुटेको हो ।
कोरियाबाट निर्दोष मोक्तान, पञ्चलाल घलान, राम बहादुर बज्यु, देव वाईबा र सिर्जना मोक्तानले प्रतिव्यक्ति १५ हजार ७ सय ८५ रुपैयाँ,सुरेन्द्र माझीले १४ हजार ८ सय ३ रुपैयाँ, फ्रान्सबाट ढक बहादुर वाईबाले १५ हजार ७ सय ८५ रुपैँया, चीनबाट भुवन लामाले ५ हजार १ सय ४६ रुपैयाँ र जापानबाट श्याम बज्युले ५ हजार ३ सय ४१ रुपैयाँ सहयोग गरेका हुन् ।
घाईतेहरुको घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर क्लवका अध्यक्ष लामामार्फत जानकारी प्राप्त भएपछि घाईते उनिहरुको जीवन रक्षाका लागि सहयोग रकम संकलन गरेर नेपाल पठाइएको क्लवका विदेश विभागका सदस्यहरुले बताएका छन् ।
माटोको ढिस्कोले पुरिएर घाईते भएका एरिना र सनिसाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने एलिसा गोले उपचारपछि घर फर्किसक्नुभएको छ । घाईते एरिनालाई भने स्पाईनल इन्जुरी रोग लागेको छ ।
माटो खन्न गएका चार दिदीबाहिनी मध्ये २४ वर्षीय अरिना गोलेको उपचारका लागि सदरमुकाम धुलिखेल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।