-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लाको तेमाल गाउँपालिकाले लकडाउनका कारण अलपत्र परेका मानिसहरुका लागि १० वटा बसको व्यवस्था गरेको छ । कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा अलपत्र परेका मजदुरहरुलाई लक्षित गरि शुक्रबारका लागि गाउँपालिकाको सबै ठाउँका मानिसहरु गाउँ फर्किन सकिने गरि १० वटा बसको व्यवस्था गरेको तेमाल गाउँपालिकाका प्रमुख सलाम सिं लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न कामको शिलशिलामा काठमाडौंमा रहेका तेमालबासी लकडाउनका कारण घर फर्किन नसकेको र लकडाउन लम्बिदै जाँदा खाद्यन्नको अभाव रहेकोले उनीहरुलाई जनताप्रति जनप्रतिनिधिको दायित्व रहेको भन्दै उद्दारमा लागेको हो । अहिले सकेसम्म गाउँपालिकाको ९ वटै वडाका मजदुरहरु गाउँमा फर्किन सकिने गरि बसको व्यवस्था गरेको छ । यसरी बसको व्यवस्था गरि गाउँमा फर्किन चाहने गाउँबासीहरुले भने वडाअध्यक्षहरु संग सम्पर्क गर्नुपर्ने छ ।
अहिले काठमाडौंबाट गाउँ फर्काउनका लागि ति जिल्लासंग सवारी पास, समय लगायत विषयमा समन्वयको कामहरु भैरहेको र यो समाचार तयार पार्दा सम्ममा भक्तपुर जिल्लासंग आवश्यक सवारी साधन पासको विषयमा टुंगो लागि सकेको र अन्य जिल्लासंग समन्वय भइरहेको छ । यसरी १० वटा बसको व्यवस्था गर्दा कुनै स्थानमा यात्रुको संख्या बढि भएमा आवश्यक मात्रामा बसको संख्या थप्न सकिने गाउँपालिका प्रमुख लामाले स्पष्ट पार्नुभयो ।
त्यसैगरि यसरी विभिन्न स्थानबाट मानिसहरु गाउँपालिकामा फर्किदा जोखिम पनि उत्तिकै हुनाले बसमा चढ्नुभन्दा पहिला स्वास्थ्य जाँच गरिने र गाउँपालिकाको मुख्य प्रवेशद्धारहरुमा रहेको हेल्थ डेक्समा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । यदि कोहि कसैलाई शंकास्पद लागेमा तुरुन्त द्रुतविधि (आरडिटि)बाट कोरोनाको जाँच गर्ने तयारी गाउँपालिकाले गरेको छ ।