• कृतिका घलान

चैत्र ३०, धुलिखेल–कोरोना भाइरस (कोभिड १९)को संक्रमण छ कि छैन भनि कम समयमा नै पत्ता लगाउन गरिने जाँच रयापिट डाईग्नोस्टिक टेस्ट आरडिटि (Rapid Diagnostic Test -RDT) हो ।आइतबार जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सबै स्थानिय तहहरुलाई आरडिटि किट वितरण गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

काभ्रेका १३ वटा स्थानिय तहहरुमध्ये हामीले जिल्लामा रहेको ७ वटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरु संग सम्पर्क गरि कुन गाउँपालिकामा कहिलेदेखि सुरु गर्ने तयारी बारे बुझेका छौ ।काभ्रेको दुई स्थानियतहहरु बेथानचोक र रोशी गाउँपालिकाले आजदेखि जाँच सुरु गरेकोे छ ।

बेथानचोक गाउँपालिका

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सीताराम तिमिल्सिनाका अनुसार चैत्र महिनामा २० जना मानिसहरु विदेशबाट आएका छन् । गाउँपालिकाले आज २० जना मध्ये २ जनाको जाँच गरेकोमा दुबैजनामा कोरोना भाइरस संक्रमण देखिएको छैन । बाँकी अठ्ठार जनाको परिक्षण मंगलबारसम्ममा सकाउने तयारी रहेको छ । चैत्र ११ गतेदेखि संचालन गरेको हेल्थ डेब्स अझै संचालनमा रहेकोमा अहिलेसम्ममा लगभग २५सय जनाको स्वास्थ्य जाँच गरेको छ ।

रोशी गाउँपालिका

रोशी गाउँपालिकामा चैत्र महिनामा १७ जना विदेशबाट फर्किएका मध्ये आइतबार ४ जनामा गरिएको जाँचमा चारै जनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना भाइरसको संक्रमण नभएको पाएको र बाँकी १३ जनाको जाँच मंगलबारसम्ममा सकाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले स्पष्ट पार्नुभयो ।

तेमाल गाउँपालिका

तेमाल गाउँपालिकामा चैत्र महिनामा विभिन्न देशहरुबाट आएका मानिसहरुको संख्या १० जना रहेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार आरडिटि अगामी वैशाख २ गतेदेखि सुरु गर्ने भएको छ । विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षण कसैमा नदेखिएका पाठकले बताउनु भयो ।

महाभारत गाउँपालिका

महाभारत गाउँपालिकामा चैत्र महिनामा विदेशबाट फर्किएका मानिसहरु गाउँपालिका वडा नं.२, ३, ४ का एक/ एक जना र ७ नं. वडाको २ जना गरि ५ जना रहेको छ । उनीहरु सबै जना घरमै एकान्तबास बसेका र कम्तिमा दुई हप्ता पूरा गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो । ति ५ जनाको आरडिटि भोलीदेखि हुनेछ ।

खानीखोला गाउँपालिका

खानीखोला गाउँपालिकामा चैत्र महिनामा विदेशबाट २ जना आएका छन् । गाउँपालिकामा प्रयोगशाला नभएकोले छिमेकी गाउँपालिका महाभारतसंग सहकार्य गर्दै अगामी वैशाख ४ गते र ९ गते आरडिटि गर्ने तयारी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामपुकार यादवले जानकारी दिनुभयो ।खानीखोला गाउँपालिकाबासी विशेषगरि दक्षिणी भागहरु सिन्धुली, हेटौडामा व्यापारिक दृष्टिले आवतजावत रहने गर्दछ । आइतबार वीरगन्जमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै स्थानियहरुमा त्रास फैलिएको स्वास्थ्य शाखा प्रमुख यादवले बताउनु भयो ।

भुम्लु गाउँपालिका

यो गाउँपालिकामा फागुन र चैत्र महिनामा गरि २१ जना मानिसहरु विभिन्न देशबाट आएका छन् । चैत्र महिनामा २ जना आएकोमा वैशाख २ गते पाँचखाल नगरपालिकामा आरडिटि गर्ने तयारी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाभित्र प्रयोगशाला नरहेकोले पाँचखाल नगरपालिकामा लानुपर्ने बाध्य रहेको भट्टराईले स्पष्ट पार्नुभयो । उहाँका अनुसार भुम्लु गाउँपालिकाले ३० बेडको क्वारेन्टाईन पनि तयारी गरेको छ ।

चौरी देउराली गाउँपालिका

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर घिसिङका अनुसार गाउँपालिका अन्तर्गत २ वटा प्रयोगशाला रहेको छ । चैत्र महिनामा विदेशबाट चौरी देउराली गाउँपालिका वडा नं. ६ का तिनजना र वडा नं. १ को एकजना गरि ४ जना आएका छन् । उनीहरुको आरडिटि सोमबार गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !