
-
नमोबुद्ध संवाददाता
काठमाडौं–विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भइरस(कोभिड–१९)को सन्त्रास नेपाली कला संगीत क्षेत्रमा पनि परेको छ । जमघट तथा भेलामार्फत गरिने नाटक मञ्चन,कन्सर्ट जस्ता कार्यक्रमहरु त प्राय ठप्पनै छ,यिनै क्षेत्रका निकायहरु आन्तरिक प्रशासनिक कामबाहेक अरु गर्न नसकिने अवस्थामा छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले परिस्थिति सामान्य नभएसम्मका लागि सबै प्रकारका औपचारीक कार्यक्रमहरु स्थगित गरेको जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानले फागुन २४ गते गर्ने तय भएको ‘नेपाली बाजाको स्तरोन्नती कार्यक्रम’,फागुन २५ गते जनकपुरमा गर्ने तय भएको ‘फागु गायनको तुलनात्मक अध्ययन कार्यशाला’,‘नेपाली लोक नाटक प्रस्तुती’,३० गते गर्ने भनिएको ‘मुकुण्डो नृत्य प्रदर्शन महोत्सव’ लगायतका कार्यक्रमहरु प्रभावित भएका हुन् ।
प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले स्वास्थ्यभन्दा ठूलो कुरा अरु नभएकोले यसप्रति संवेदशील बन्नुपर्ने बताए ।
उनले भने–‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि हामीमार्फत हुने कला,संगीत तथा नाट्य गतिविधिहरु अगाडी बढाउन सकेनौं ।’
स्थिति समान्यीकरण तथा सरकारको आधिकारीक सूचनाविना प्रतिष्ठानका प्रशासनिक बाहेकका औपचारीक अन्य कार्यक्रमहरु अगाडी नबढ्ने उनले स्पष्ट पारे । प्रतिष्ठान नेपाल सरकार,संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतको सांस्कृतिक गतिविधि गर्ने अंग हो ।