• नमोबुद्ध संवाददाता

सिन्धुपाल्चोक-लिसंखु पाखर गाउँ पालिका-२ लिसंखु (ह्रिस्याङ्गो) मा अवस्थित झ्याङछ्युब् छ्योर्तेन (बोधिसत्व स्तुपा) को ह्राप्ने (प्राण प्रतिष्ठा) गरिएको छ ।

यहाँ निर्मित छ्योर्तेनको बौद्ध धर्मका गुरु यिस्हे स्हाङपो रिन्पोर्छेको बाहुलीबाट हालै ह्राप्ने सम्पन्न भएको हो । यिनै अवसरमा स्थानीय लामाहरुले भाक्पा छ्याम (लामा नाँच) पनि प्रस्तुत गरे ।

लिसंखुमा रहेको ङ्याङ्जो थरी तामाङ समदायले २०५४ सालमा ३२ फिट उचाइमा निर्माण शुरु गरी २०५६ मा ह्राप्ने (प्रतिष्ठा) सम्पन्न गरेको यो स्तुपा २०७२ को महा भुकम्पले पूर्ण रुपमा क्षति पुर्याएको थियो । त्यसलाई पुनः २०७४ मा शुरुगरी २०७६ मा छ्योर्तेन निर्माण सम्पन्न गरिएको हो ।

झ्याङछ्युब छ्योइलिङ गोन्पाद्वारा निर्मित छ्योर्तेन ५२ लाख ५६ हजार ६ सय ९० रुपैयाँ लगानीमा पुनःनिर्माण भएको झ्याङछ्युब छ्योइलिङ गोन्पा समितिका अध्यक्ष सरोज लामा (ङ्याङ्जो) ले जानकारी दिनुभयो ।

मन्त्री नेपालद्वारा सराहना

झ्याङछ्युब छ्योइलिङ गोन्पाद्वारा निर्मित छ्योर्तेनको औपचारिक उद्घाटन भने बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले शिला अनवरण र दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

भुकम्प प्रतिरोधात्मक नव निर्मित ४८ फिट उचाइमा रहेको छ्योर्तेनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि मन्त्री नेपालले भन्नुभयो-‘सरकार र जनता संगसंगै हिँडे मात्र देश बन्छ, भुकम्प पछि अहिले लिसंखुका स्थानीयबासीले खर्च कटौती गरेर बौद्ध धर्मको धरोहरलाई पुनः उभ्याएको छ यो निकै सराहनीय कार्य हो ।’

गोन्पा पुनःनिर्माणमा योगदान र सहयोगी मनहरुलाई बधाई तथा धन्यवाद दिदै उहाँले छ्योइफेल कुन्देलिङ गुम्बा पनि नजिकै रहेकोले लिसंखुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको वताउनु भयो । जसले गर्दा स्थानीय युवाहरुको लागि रोजगारीको व्यवथासंगै आम्दानीको स्रोत पनि मिल्ने उहाँको भनाई छ ।

कार्यक्रममा लिसंखु पाखर गाउँपालिका प्रमुख कमल नेपाल, उप–प्रमुख हेमगंगा मोक्तान, लिसंखु पाखर गाउँपालिका वडा–२ का अध्यक्ष हस्तबहादर लामा, छ्योइफेल कुन्देलिङ गोन्पाका सचिव बुद्ध योन्जन लगायतले शुभकामना मन्तव्य मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा छ्योर्तेन पुनःनिर्माणमा सहयोग पुर्याउने सम्पूर्णलाई सम्मानपत्र, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

फोटो सौजन्य-बुद्ध योन्जन

प्रतिक्रिया दिनुहोस !