
-
नमोबुद्ध संवाददाता
तेह्रथुम–नेपाल प्रज्ञा–प्रतिष्ठानले देशव्यापी आफ्नो गतिविधि बढाएको छ । राजधानी काठमाण्डौंदेखी मोफलसला समेत विभिन्न संघसंस्थासँग सहकार्य गरी भाषा,साहित्य,कला,संस्कृति सम्बन्धी कार्यक्रमहरु गर्दै आएको हो । यसक्रममा प्रतिष्ठानको आयोजना र तेह्रथुम बहुमुखी क्याम्पसको संयोजनमा सोमबार आठराईमा ‘नेपाली वर्णविन्यासको मानकप्रयोग’तथा ‘कविताको भाषिक संरचना’सम्बन्धीविशेष गोष्ठी सम्पन्न भएको छ ।
तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख निलम खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले केही समय अगाडि नेपाली वर्णविन्यासका बारेमा केही विवादहरू देखिएको भएपनि अहिले भने त्यसले मानकीकरणको स्वरूप प्राप्त गरिसकेको र नेपाल सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित अद्यावधिक शब्दकोश अनुसारको वर्णविन्यास प्रयोग गर्न परिपत्र गरिसकेको हुनाले त्यसकाबारेमा सम्पूर्ण नेपाली शिक्षक, प्राध्यापक र साहित्यकारहरूलाई स्पष्ट पार्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्यप्रा.डा. हेमनाथ पौडेलले ‘नेपाली वर्णविन्यासको मानकप्रयोग’ सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले ‘कविताको भाषिक संरचना’ सम्बन्धमा प्रयोगात्मक प्रस्तुति दिनुभएको थियो ।
तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम र झापाका २०० भन्दा बढी प्राध्यापक, शिक्षक, साहित्यकार र विद्यार्थीहरूको सहभागितामा सञ्चालित यो कार्यक्रममा पूर्वराज्यमन्त्री तथा साहित्यकार श्रीप्रसाद जबेगु, दमक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी, रवि बहुमुखी क्याम्पसका प्रमुख टीका भट्टराई, तेह्रथुम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चक्रपाणि भट्टराई,व्यवस्थापन समितिका सदस्य आरसी थपलिया, नेपाली विभाग प्रमुख निधिरत्न न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लावती, पूर्व प्राज्ञ सभा सदस्य रविमान लमजेल,अधिकृत सुवर्ण रञ्जित,झापाका स्रष्टा टीका लामिछाने, पाँचथरका स्रष्टा प्रेमओझा लगायतको सहभागिता रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका सञ्चार विभाग प्रमुख शशी लुमुम्बूले जनाउनुभयो ।
कार्यपत्रसहित: