-
अशोक बुद्ध लामा
रोशी–काभ्रेको रोशी गाउँपालिकाले सोमबार २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । औपचारीक कार्यक्रमकाबिच एम्बुलेन्स हस्तान्तरण गर्नुहुदै पूर्व सांसद तिर्थ लामाले रोशीका जनताको सुस्वास्थ्यका लागि आफू र यहाँको नेतृत्व सदैव लागि पर्ने बताउनुभयो ।
प्रतिस्पर्धाको यो युगमा रोशी गाउँपालिकालाई स्वास्थ्य,शिक्षा,खानेपानी,कृषि,रोजगार जस्ता क्षेत्रमा उदाहरणीय काम गरी सुगम बनाउने प्रतिस्पर्धामा लाग्ने जिम्मेवारी आज आएको उहाँको भनाई छ ।
रोशीका ३९ हजार जनसंख्या र यहाँको भुगोलको सम्भावनालाई हेरी समृद्धी हाँसील गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुहुदै लामाले अहिलेसम्म रोशी गाउँपालिकामा ४ वटा एम्बुलेन्स भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँको भनाईमा अब रोशीका जनताले सहजै उम्बुलेन्स सेवा पाउनेछन् ।
उहाँले गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती(बर्तौला)झैं निस्वार्थरुपमा सामाजिक रुपान्तरणको बाटोमा लाग्न अन्य जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । भ्रष्टाचार र कमिसनको खेलमा नलाग्न आग्रह गर्दै उहाँले भ्रष्टाचाररहित समाजको परिकल्पना साकार पार्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष दलबहादुर लामा(डिबी)ले बाह्रै महिना एम्बुलेन्ससँगै अन्य गाडी समेत चलाउन सडक जहिल्यै सुचारु गर्नुपर्ने विषय चुनौतीपूर्ण रहेको उल्लेख गर्नुहुदै यसतर्फ आफ्नो ध्यान गएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती(बर्तौला) रोशी ११ मा निर्वाचित दलित महिला वडा सदस्य सुत्केरी हुदा एम्बुलेन्स नभएर अरु साधानमा अस्पताल लानुपर्दा समस्य भएको घटनाबाट प्रेरित भएर आर्थिक वर्ष २०७५⁄७६ को बजेटमा आफुले पाउने सेवा सुविधा वापतको भत्ता एम्बुलेन्स किन्न प्रस्ताव गरेको दावी गर्नुभयो ।
सबै कार्यपालिका सदस्यहरुले यसलाई अनुमोदन गरेको बताउनुहुदै उहाँले आफुले भोटको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पुर्व संविधानसभा सदस्य ललिता किङरिङ मगरले आफु संविधानसभा सदस्य हुदा रोशीमा शिक्षाका साथै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गर्नुहुदै अहिले हल्ला चलाएजस्तो रोशी ११ मा एडिबीको बजेट आफ्नो कारण नरोकिएको स्पष्ट पार्नुभयो । बरु स्थानिय नया किरण सामुदायिक विद्युत सहकारीले मापदण्ड पूरा नगरेकोले त्यस्तो भएको किङरिङको आरोप छ ।
समाजसेवी गणेश लामाले मुलुकका ७५३ स्थानीय तहमध्ये रोशी गाउँपालिका राम्रो काम गर्नमा पहिलो होस् भन्ने आफुले चाहेको र यसमा सबै मिलेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले रोशी गाउँपालिकाको कार्यालय भवन चाँडै निर्माण गर्न सुझाव दिनुभयो ।
यसरी हुनेछ एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन
पालिका प्रवक्ता पदम बहादुर लामाले आफूहरु जनप्रतिनिधिमा निर्वाचित भएपछि स्वस्थ नै पहिलो धन हो भन्ने मनस्थिति लिएर अगाडि बढेअनुसार ३९ हजार जनसंख्या भएको ठाउँ सम्भावित रोगव्याधीलाई समेत दृष्टिगत गरी एम्बुलेन्सको व्यवस्था गरेको बताउनुभयो ।
वडा नम्बर ५ मा रहने एम्बुलेन्सले १ देखि ५ नम्बर वडासम्मका स्थानियलाई सुविधा दिने र ६ देखि १२ नम्बर वडा सम्मका स्थानियलाई वडा नम्बर ११ मा रहेको एम्बुलेन्सले सुविधा दिने उहाँले जानकारी गराउनुभयो । भौगोलिक विविधताले पनि एकभन्दा बढि एम्बुलेन्स आवश्यक रहेकोमा आज त्यो पुरा भएको उहाँको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले एम्बुलेन्स किन्न गत बर्षको गाउँसभाबाटनै प्रयास गरेको र आज सफल भएको बताउनुभयो । प्रदेश सरकारले समेत सहयोग गरेको उल्लेख गर्नुहुदै उहाँले सबै वडालाई समानुपातिक हुने हिसाबले ५ र ११ वडामा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
यसमा १० लाख खर्च लागेको,सबै खर्चहरुमा एम्बुलेन्स व्यवस्थापन समितिनै जिम्मेवारी हुने र गाउँपालिकाले प्रति एम्बुलेन्सलाई ५ लाख अक्षयकोष स्थापना गरेको जनाउनुभयो ।
एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष दिलदोर्जे लामाले एम्बुलेन्सको सही सदुपयोग गर्ने र यदि एम्बुलेन्स चलाउन रकम नपुगेमा आफुहरुले पनि सहयोग गर्ने बचन व्यक्त गर्नुभयो ।
रोशी ११ का वडा अध्यक्ष मिलन लामाले रोशी गाउँपालिका विपी राजमार्गले छोएको, दुर्घटना बढी हुने र एम्बुलेन्स अति आवस्यक भएको ठाउँमा अब समस्या पुर्ति भएको बताउनुहुदै रोशी ११ मा रहने एम्बुलेन्सले तेमाल र सिन्धुलीको केही भागलाई समेत सेवा सुविधा दिन सक्ने उल्लेख गर्नुभयो ।