• नमोबुद्ध संवाददाता

कुन्ता–काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित कुन्तावेशीमा नगरपालिकाको सहयोगमा जिल्ला पालिकास्तरिय प्रथम मेयर कप खुल्ला भलिपल प्रतियोगिता मंगलबार सुरु भएको छ ।

जिल्लाका विभिन्न स्थानिय तहका समेत गरी १० टिम सहभागि प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख(मेयर) टोक बहादुर तामाङले खेल राष्ट्रकै गौरवको विषय भएकोले यसको विकासमा आफू सदैव सकारात्मक रहेको बताउनुभयो ।

खेलकुद मनोरञ्जनमात्रै नभई स्वस्थ जीवनका लागि,अनुशासनका लागि र राष्ट्रको लागि महतत्वपूर्ण रहेको उहाँको धारणा छ । मेयर तामाङले मण्डन देउपुर नगरपालिका प्रत्येक वडा वडामा खेलकदको कार्यक्रम लिएर जान चाहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–“हाम्रो योजनामा नगरको प्रत्येक वडा वडामा खेल मैदान बनाउनुपर्छ र बजेट छुट्टाउनुपर्छ भन्ने छ ।”

उहाँले यहि योजनामुताविक चालु आर्थिक वर्षमा सम्पन्न गराउने गरी वडा नम्बर १ र २ मा बजेट विनियोजन भएर खेल मैदान बनाउने काम सुरु भएको जानकारी गराउनुभयो ।

गत वर्षबाट वडा नम्बर ७ महादेवस्थानको कमेरेमा निर्माण थालिएको नगरस्तरिय खेलकुद मैदान सम्पन्न गराउने भने प्रदेश सरकार र संघिय सरकारलाई पनि मद्दत मागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“ खेल जगत गहना हो,पहिचान हो र आवश्यकता पनि हो,त्यसैले हामी यसमा कुनै कञ्जुस्यांई गर्ने छैनौं,यद्यपी गत वर्ष २५ लाख विनियोजन गरेर बनाउन थालेको नगरस्तरिय खेल मैदान सम्पन्न गर्न नगरको स्रोत साधनले मात्रै नभ्याउने भएर प्रदेश सरकार र संघिय सरकारलाई पनि सहयोगका लागि अनुरोध गरेका हौं ।”

यसमा डिपीआरको योजना अघि बढाएको जानकारी दिदै उहाँले खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारका अलवा,राष्ट्रियस्तरकै खेलकुद कार्यक्रमहरु पनि गर्ने गरेको स्पष्ट पार्नुभयो ।

विधि पद्धती,कानुन र मर्यादाको ख्याल गरी प्रतियोगिताको शान बढाउन मेयरकप भलिवलमा सहभागि खेलाडीहरुलाई आग्रह गर्दै मेयर तामाङले विधि र पद्धतिको कार्यन्वयन देशका हरेक क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।

मेयरकप भलिवल उद्घाटन समारोमा नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युतप्रसाद पौडेलले यसखाले कार्यक्रम गरेर नगरले प्रसंशनिय काम गरेको बताउनुभयो ।

प्रथम मेयर कप भलिवल प्रतियोगिता संचालक समिति संयोजक रमेश क्षेत्रीले यस प्रतियोगिताले युवा प्रतिभाको प्रस्फुटनका साथै स्थानिय स्तरको खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रतियोगितामा मण्डनका तीन वटा टोली,बनेपा,धुलिखेल,बुडोल,पनौती तथा अन्य स्थानिय तहका खेलाडीहरुको टोली सहभागि छन् ।

दिपावली,छठ र नेपाल संवत् ११४० को अवसरमा आयोजित प्रतियोगितामा प्रथम हुने टोलीले ट्रफी,मेडल,प्रमाणपत्रका साथै नगद ५५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार समेत प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ट्रफी,मेडल,प्रमाणपत्रका साथै नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद पुरस्कार र तेस्रो हुने टोलीले ट्रफी,मेडल,प्रमाणपत्रका साथै नगद २२ हजार २ सय २२ रुपैंया नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !