नमोबुद्ध संवाददाता

काठमाडौं–भोजपुरे सेवा समाज, काठमाडौँले वडादशैँ, तिहार, छठ, नेपाल सम्बत् तथा उधौली लगायतका चाडपर्वहरूको अवसर पारेर आयोजना गर्न लागेको शुभकामना आदान प्रदान तथा देउसी–भैलो कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई मुख्य पाहुनाको रुपमा काठमाडौं आउनुहुने भएको छ ।

समाजले यही कार्तिक ६ गते, बुधबारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा दिउँसो १ः३० बजेदेखि आयोजना गर्ने कार्यक्रममा मुख्यमन्त्री राई प्रमुख अतिथिका रूपमा आउने समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले जानकारी दिनुभयो ।

शुभकामना आदानप्रदानका साथै भातृत्वभाव अभिवृद्धिका लागि यसखाले कार्यक्रमले भुमिका खेल्ने अध्यक्ष शेर्पाको धारणा छ ।
अध्यक्ष शेर्पाका अनुसार कार्यक्रममा ख्यातिप्राप्त भोजपुरे कलाकारका साथै अतिथि कलाकारहरूको समेत साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति रहने छ ।

कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका जनप्रतिनिधिहरू, प्राज्ञहरू, कवि, साहित्यकार, कलाकार, समाजसेवी लगायत विभिन्न पेशा व्यावसायमा आबद्ध भोजपुरेजनहरूको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !