• नमोबुद्ध संवाददाता

काठमाडौं—यो पटक डाइभर्सिटी भिसा (डिभी) का लागि अमेरिकी सरकारले कडाई गरेपनि आवेदन दिनेहरु नघटेको पाईएको छ । सन् २०२१ का लागि अमेरिकी सरकारले इलेक्ट्रोनिक्स आवेदन खुलाएको तीन हप्ता पुग्दैछ ।

आवेदनका लागि यो पटक राहदानी अनिवार्य गरेकाले सुरुका दिनमा अलमल जस्तो देखिएपनि दशैंपछि अहिले डिभी भर्ने ह्वत्तै बढेको कसल्टेन्टहरु बताउँछन् ।

ईलेक्ट्रोनिक डिभी आवेदन साईटबाट आफैं पनि भर्न सकिन्छ भने अरुको सहायता चाहिएमा नजिकका साईबर,इन्स्टीच्युट तथा कन्सल्टेन्सीहरुमा गएर भर्न सकिन्छ ।

अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट बर्सेनी ५० हजारलाई डीभीमार्फत कानुनी रुपमा आफ्नो मुलुकमा बसोबासको अनुमति दिने गरेको छ ।

राहदानी बनाउनेको भीड

डिभी भर्ने प्रयोजनमा अहिले जिल्ला प्रशासन कार्यालय,राहदानी विभाग काठमाडौं,यिनका सेवा केन्द्रहरुबाट राहदानी बनाउन निवेदन दिनेहरुको भीड लागेको छ । सबैभन्दा बढि भिड नारायणहिटीस्थित राहदानी विभागमा देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत बनाईदा समय धेरै खर्चिने भएकोले डीभी भर्ने प्रयोजनकै लागि राहदानी बनाउन काठमाडौं आउने धेरै युवा भेटिन्छन् ।  दशैं लगत्तै अहिले राहदानी बनाउने भिड बढेको राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार राहदानीका लागि विभागमा दशैंअघि दैनिक ६/७ सय जनासम्मको निवेदन पर्ने गरेकोमा अहिले झण्डै २ हजार सम्मको आवेदन आउन थालेको छ ।

नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु भएको डिभी चिट्ठा आवेदन दिने समय कात्तिक १९ गते मंगलबार राति १०ः ४५ बजे बन्द हुनेछ ।

photo : ekantipur.com

प्रतिक्रिया दिनुहोस !