
गाउँपालिका अध्यक्ष मोक्तानले भन्नुभयो–“फूटबलको कठिन यात्रा रोशीको गाउँगाउँमा आईपुग्नु गौरवको विषय हो”
- नमोबुद्ध संवाददाता
रोशी–वडादशैंको अवसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा पञ्चबुद्ध युवा क्लबको आयोजनामा गत बुधबारदेखी सुरु भएको खुल्ला बृहत रोशी फूटबल कप प्रतियोगिता कडा सुरक्षाकाबिच सोमबार समापन गरिएको छ ।
प्रतियोगिता सञ्चालनकै दौरानमा फूटबल खेलको विषयमा बिवाद हुदा गत आईतबार राति स्थानिय रोशी–११ का वडाध्यक्ष मिलन लामामाथि गोली प्रहर भएपछि थप झगडा हुनसक्ने आसंका गर्दै सोमबारको फाईनल खेल कडा सुरक्षा घेराभित्रै भएको हो ।
पिन्थली फूटबल क्लव र काल्धार युवा क्लवबिचको फाईनल खेल सुरु भएदेखी प्रतियोगिताको समापन नहुञ्जेल जिल्ला सदरमुकामबाट आएको शसस्त्र प्रहरी बल र प्रहरीले वरिपरि घेरेर सुरक्षा दिए । सुरक्षाका लागि प्रहरी चौकी मंगलटारका अलवा जिल्लाबाटै प्रहरी फोर्सका साथै शसस्त्र प्रहरी बलको छुट्टै टोली आएका हुन् ।
समापनका दिन जिल्ला प्रहरी प्रमुख जयराज सापकोटा स्वयम् आउनुभयो ।
उहाँले भन्नुभयो–“खेलले अनुशासन सिकाउँछ,सद्भाव बढाउँछ तर मैले सुनेअनुसार र वास्तविक रिर्पोटिङ अनुसार पनि यहाँको मेलमिलापमाथि बारम्बार खटपट देखिन्छ,वल्लो गाउँ र पल्लो गाउँबिचनै स–साना विषयले उग्र रुप लिने गरेको छ,यसो हुनुहुन्न,यहाँहरुलाई थाहा भएकै कुरा हो हाम्रो काम भनेको सुरक्षा दिने हो,अस्तीको जुन घटना भयो त्यसबाट हामी सचेत छौं त्यसैले आज म आफैं दुई तीन जना ईन्सपेक्टर र अन्य सुरक्षा बलका साथ आउनुपरेको हो ।”
प्रहरी प्रमुख सापकोटाले यो क्षेत्रमा हालै भएको गोलीकाण्डबारे अनुसन्धान भईरहेको जानकारी पनि दिनुभयो । घटनाका आरोपितको खोजी कार्य तिब्र पारिएको उहाँको भनाई छ ।
नगद १ लाख र शिल्ड काल्धारलाई
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाईनलमा पिन्थली फूटबल क्लव र काल्धार युवा क्लवबिचको भिडन्त रोमाञ्चक रह्यो ।
दुवै टिमका खेलाडीहरु आक्रामक रुपमा प्रस्तुत भएपनि खेलको छिनोफानो २–१ गोल अन्तरले गरायो । काल्धार टिमले खेलको पहिलो हाफअघि १ गोल त्यसपछि पनि १ गोल गरेपछि त्यसको पिडामा परेको पिन्थली टिम थप उर्जाका साथ मैदानमा उत्रे । त्यसको परिणामस्वरुप १ गोल गरेर जवाफ दियो काल्धार टिमलाई, त्यसपछिको समय दुवै टोली गोलरहित भएपछि खेलको छिनोफानो २–१ गोल अन्तरले भएको हो ।
प्रतियोगिताका प्रमुख विजेता काल्धार युवा क्लवले शिल्ड तथा ट्रफी ,मेडल,प्रमाणपत्रका साथ नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामै चित्त बुझाउन बाध्य पिन्थली फूटबल क्लवले शिल्ड तथा ट्रफी ,मेडल तथा नगद ५० हजार प्राप्त गर्यो ।
प्रतियोगिताको वेष्ट मिडफिल्डरमा काल्धार क्लवका विकास लामा,वेष्ट फरवार्डमा पिन्थली क्लवका ७ नं जर्सीवाला खेलाडी,वेष्ट कोचमा देव सिं लामा,वेष्ट गोलकिपरमा मेच्छे टिमका खेलाडी घेषित भए ।
वडाध्यक्ष मिलन लामा लगायतका व्यक्ति तथा विभिन्नतहको आर्थिक सहयोगमा भएको प्रतियोगितामा जिल्ला स्तरकै प्रतियोगिताहरुमा सहभागि भई अनुभव बुटुलेका सहित गरी २० वटा टिमहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष अजयबुद्ध लामाले जानकारी दिनुभयो ।
“फूटबलको कठिन यात्रा रोशीको गाउँगाउँमा आईपुग्नु गौरवको विषय हो”
रोशी गाउँपालिकाका अध्यक्ष डिबि(दलबहादुर)मोक्तानले रोशी क्षेत्रमा वहृत फूटबल प्रतियोगिता भएको दावी गर्दै यसप्रति गर्व लागेको बताउनुभयो ।
उहाँले जिल्ला,देश र देशबाहिर समेत फूटबल खेल्न सक्ने खुवी भएका,नाम चलेका खेलाडी तथा दर्जनौं क्लवहरुहरुको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु रोशीकै गौरवको विषय रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपालमा फूटबल खेलको ईतिहास स्मरण गराउँदै उहाँले भन्नुभयो–“विश्वका थुप्रै देशहरुले फूटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् तर ईतिहास हेर्दा नेपाली फूटवलको यात्रा कठिन यात्रा हो,२००४ सालमा नरशम्सेरद्धारा सुरु फूटबल खेल २००८ सालमा आएपछि मात्रै लिग फूटबलको रुपमा शुभारम्भ भयो,खेलप्रति नेपालीको दृष्टिकोण उदार भएन,यिनै कठिन यात्राकोबिचमा आज रोशीको गाउँगाउँमा आईपुग्नु र आज यो प्रतियोगिता हुनु सामान्य हैन,यो हाम्रो गौरवको विषय हो ।”
कार्यक्रमका प्रमुख अतिथि मोक्तानले रोशीमा आगामी दिनमा यसखाले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधिहरु जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
युवा जागरण,युवा सिर्जनशीलताको सम्मान मिल्ने यसखाले प्रतियोगिता भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो–“हाम्रा स्थानिय क्लवका अध्यक्ष अजय र वडाध्यक्ष मिलन लामाले यसखाले प्रतियोगिताको अवधारणा ल्याउनुभयो,आज यो सफल भएको छ,उहाँहरु लगायत नैतिक,भौतिक,वौद्धिक रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ।”
प्रतियोगिता समापन समारोहका विशेष अतिथि समाजसेवी शंखबुद्ध लामाले यो प्रतियोगिताले युवा एकताको सन्देश जाने बताउनुभयो । उहाँले भन्नुभयो–“हामी मिले थुप्रै कामहरु सफल हुन्छ,आज यहाँ विशाल प्रतियोगिता भएको छ,यसले युवालाई अनुशासन सिकाएको छ,यसखाले मानविय संकल्पशिलता र चेतनाबाटनै हामीलाई सफलता मिल्दछ ।”
प्रतियोगिताको समापनमा रोशी र तेमालका गाउँगाउँबाट संयौं स्थानिय कालढुंगा ओर्ले । सांगीतिक कार्यक्रम समेत रहेकोले उनिहरुले मनोरञ्जन समेत लिए ।