• नमोबुद्ध संवाददाता

काठमाडौं–चीन तथा दक्षिणी एसियाका स्रष्टाहरू काठमाडौँमा भेला हुँदै छन् ।

चीन तथा दक्षिण एसिया लिटरेचर फोरमको संस्थापक सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना हुने दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलनमा चीन र सार्क मुलुकका स्रष्टाहरू भेला हुन लागेका हुन् ।

सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका साहित्यकार भेला हुने सम्मेलन आयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो ।

कुलपति उप्रेतीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने सम्मेलन पाँच दिनसम्म चल्ने छ । सम्मेलनमा क्षेत्रीय रूपमा बहुपक्षीय महत्वका प्राज्ञिक विषयमा सहकार्य गर्न दुई वर्षअघि ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापना गरिएको थियो ।

“साहित्यिक सार्कको अवधारणासहित तीन वर्षअघि नै सबै यस क्षेत्रका सबै मुलुकलाई समेटेर साझा फोरम बनाएका थियौँ,” उप्रेतीले भन्नुभयो– “त्यही फोरमद्वारा पहिलो सम्मेलन गत वर्ष चीनको छेन्दुमा आयोजना गरिएको थियो भने यसपटक नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको हो ।”

चीन, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका समकक्षी प्रतिष्ठानहरू एवं नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत संस्थापक रहेको उक्त साहित्यिक निकायले क्षेत्रीय रूपमा भाषा, साहित्य, संस्कृति र वाङ्मयकाे समस्त विधाको विकासका लागि काम गर्ने उद्देश्य लिएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् सञ्चार विभाग प्रमुख शशी लुमुम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !