• नमोबुद्ध संवाददाता

काठमाडौं–सत्तारुढ दल र प्रतिपक्षका नेताहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसले कोजाग्रत पुर्णिमाका अवसरमा आइतबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले सीको नेपाल भ्रमण सफल भएको समेत बताए ।

२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले चीन र नेपालबीचको सम्बन्धलाई उचाइमा लगेको नेताहरुको प्रतिक्रिया छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले भ्रमणका बारेमा प्रतिक्रिया दिईनसकेतापनि सत्तारुढ दलका नेताहरुबाट निकै सकारात्मक प्रतिक्रियाहरु व्यक्त गरे ।

पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाई लिएको दाबी गर्नुभयो । चीनले आर्थिक सहयोग कति गर्यो भन्ने कोणबाट मात्रै भ्रमणको मुल्याकंन गर्न नहुने भट्टराईको भनाई छ ।

खनालले नेपालले सीको भ्रमणपछि नेपालीको रेलको सपना पुरा हुने विश्वास जागेको बताउनुभयो । दुई देशबीचको सडक बाटोको स्तरोन्नति, बढी भन्दा बढी नाकाहरु खुला गर्ने प्रतिबद्धतासंगै नेपालीको रेलको सपना पनि अब पुरा हुने उहाँको विश्वास छ ।

नेकपाकै अर्का नेता नारायणकाजी श्रेष्ठले पनि चीनसंगको आर्थिक साझेदारी बढाउने दिशामा सीको भ्रमण ऐतिहासिक रहेको टिप्पणी गर्नुभयो ।

कांग्रेस सभापति देउवाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई आफ्नो पार्टीले हार्दिकताका साथ स्वागत गरेको बताउनुभयो ।
देउवाले सीको भ्रमणलाई पार्टीले दुई देशबीचको सम्बन्ध सुधार गर्ने र आर्थिक साझेदारी बढाउने उद्देश्यबाट हेरेको बताउनुभयो ।

२३ वर्षअघि आफू प्रधानमन्त्री छँदा तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चमिनको नेपाल भ्रमणको प्रसंग जोड्दै उहाँले यस्तो बताउनुभएको हो ।

सि दुई दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !