आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह
-
नमोबुद्ध संवाददाता
काठमाडौं–रोजगार तथा व्यवसायको सिलसिलामा देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ शनिबार राजधानीमा आयोजित एक समारोहकाबिच सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडेल लगायतका अतिथिहरूद्वारा सार्वजनिक गरिएको हो ।
रावासावा प्राज्ञिक समाज काठमाडौँ र सावा कला साहित्य मञ्चद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ प्रा.डा. पौडेलले सङ्ग्रहभित्र समाविष्ट गजल पढ्दा गजलकारहरूमा प्रचुर सम्भावना रहेको आफूले पाएको बताउनुभयो ।
उहाँले स्वदेश र प्रवासमा रहेका गजलकारको संयुक्त सङ्ग्रह स्वागतयोग्य रहेको धारणा व्यक्त गर्नुभयो ।
गजलकार रावलले सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै गजलकारहरूबाट अरु परिष्कारको अपेक्षा गरेको बताउनुभयो । उहाँले गजल लेख्दा यसको नियमलाई गजलकारले कठोरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जसराज किराती, शशी लुमुम्बू, रमेश पौडेलले नेपाली साहित्यको समृद्धिमा प्रवासी स्रष्टाहरूको योगदानको चर्चा गर्नुभयो । रावासावाका अध्यक्ष गीतकार टीका चाम्लिङ, महासचिव कवि चन्द्र रानाहँछा, सदस्य आनन्द भट्टराईले संस्थाको उद्देश्य र गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।
जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रहमा अशोक थुलुङ राई, असीम विश्वकर्मा,अरुण बान्तावा राई, दीप मुस्कान (जेबी राई), धनु विष्ट, रविन दावा राई, रविन्द्र दिखुक्पा र सुगम साकुराका बीस बीस वटा गजल सङ्ग्रहित छन् ।