नमोबुद्ध संवाददाता

तेमाल–म्हेनिङ–दशैं अन्तरगत आज फूलपाती–आखेछ्योअीबा : मनाईदैछ । गाउँघरमा चहलपहलले छोप्न थालिसकेको छ । गाउँ फर्किने यात्रुहरुका कारण विपी राजमार्ग र अरनिको राजमार्गमा सवारी साधनको आउजाउ बाक्लिएको छ ।

दशैं मनाउने शिलशिलामा यत्तिबेला थुप्रै सडक सवारी यात्रामा छन् ।

काभ्रेको तेमालमा पनि म्हेनिङको माहौल छाउन थालेको छ । सवारी साधनमार्फत शहरबाट गाउँ फिर्ने बढ्दो छ ।

हालै परेको अविरल वर्षाले बाटो अस्तव्यस्त बनेकोले यात्रा असहज होलाकी भन्ने चिन्तामा रहेका स्थानियमा अब यस्तो अवस्था नरहेको वडाध्यक्ष तथा तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर मोक्तान बताउनुहुन्छ ।

गत असार २६ यता बेला बेलामा तर अविरल रुपमा पर्ने बर्षाका कारण पहिरो जाँदा थुप्रै ठाउँमा बाटो विग्रिएको थियो ।

अब ठाउँठाउँमा अवरुद्ध भएको सडक खण्डहरुहरु पूर्णरुपमा सुचारु भएकोले सजिलै गाडीको यात्रामार्फत आउजाउ गर्न सकिने प्रवक्ता मोक्तानले जानकारी दिनुभयो ।

उहाँका अनुसार अविरल वर्षासँगैको पहिरोले क्षतीग्रस्त भएको मंगलटार,काल्धार, मेटुवाल, कुरुवास, चापाखोरी, धुल्खु जाने सडक यो साता पुनः संचालनमा आएको छ । विपी राजमार्ग हुदै पूर्वि तेमाल पुग्न यो बाटो सहज र छोटो दुरीको रहेको उहाँले बताउनुभयो ।

केहि दिनको लगातार पानी पर्दा आएको बाढि पहिरोले स्थानिय खोलामा रहेको पुल भत्कँदा यो क्षेत्र यातायात सञ्जालबाट बाहिररिएको थियो ।

अहिले यो पुल बनिसकेको छ । दशैं पर्व नजिकिएकोले पनि भत्किएका सडकखण्डहरु खुलाउन गाउँपालिकाले तदारुकता दिएको प्रवक्ता मोक्तानले स्पष्ट पार्नुभयो ।

नेपालथोक–मुक्पाटार चोपटार सम्मको ग्रामीण सडक पनि सफा गरिएकोले सामन्यतया गाडी,मोटरसाईकलहरु आउजाउ गर्न सक्दछन् । काल्ढुंगा–मेच्छे भोज्र्याम सडकखण्ड पनि सुचारु भएको छ ।

अहिले गाउँपालीका भर गाडी चल्ने स्थिति रहेकोले म्हेनिङ–दशैं मनाउन गाउँ आउने यात्रुहरुलाई समस्या नपर्ने उहाँले बताउनुभयो ।

भकुण्डे-कोटतेमाल, नारायणस्थान तथा आधारबाट -कमेरे बोहोरे सडक पनि सञ्चालनमै छ ।

वडा नम्बर १ सस्र्युंखर्कका अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार तत्काल डोजर लगाएर बाटो खुलाउने काम भएपछि किसानको कृषिजन्य बस्तु बजारमा पुर्याउन र म्हेनिङ–दशैंको बेला आउजाउ गर्न सहज भएको छ ।

बोहोरेदोभान–आधाबाट,कोटतिमाल तथा डाँडागाउँ सडक खण्ड र बोहोरेदोभान झिगुखोला–चुखावेशी सडक खण्डमा परेको पहिरो पन्छाएपछि अहिले पर्सेलसम्म गाडी चल्ने स्थिति रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यो सडकखण्ड अवरुद्ध हुदा सस्र्यूंखर्कदेखी पर्सेलसम्मका स्थानिय प्रभावित थिए ।

वडा नम्बर २ का वडाध्यक्ष तिमाल सिं तामाङका अनुसार डाँडागाउँसम्म सहजै गाडी चल्न सक्छ । अविरल वर्षापछिको पहिरोले यो क्षेत्रका स्थानिय पनि प्रभावित थिए,अहिले यो क्षेत्रका किसानले आफ्ना उत्पादन बजारसम्म लैजान पाएका छन् ।

म्हेनिङ–दशैंका बेला सडक यात्रा सहजै गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस !