- नमोबुद्ध संवाददाता :
काठमाडौं–प्रतिनिधिसभा सदस्य नविना लामाले ईतिहास विभेदकारी रहेको बताउनुभयो ।
राजधानीको भृकुटिमण्डपमा शुक्रबार सुरु भएको ‘चौथो तामाङ ज्ञान महोत्सव’ अन्तरगत ‘राजनीतिमा तामाङ सुमदायको अवस्था’ विषयक छलफलमा उहाँले यस्तो बताउनुभएको हो । आजको लोकतान्त्रिक शासन पद्धत्तिमा भने त्यसखाले विभेद हुन नहुने उहाँको तर्क छ ।
हालै लोकसेवा आयोगले संविधानको मर्म विपरित असमावेशी विज्ञापन आह्वान गर्दै एकतर्फि रुपमा कर्मचारी भर्तीको प्रक्रिया चालेकोमा सांसद लामा किन मौन ? सहभागिको यसखाले प्रश्नको उत्तरमा उहाँले भन्नुभयो –“म लोकसेवाको असमावेशी विज्ञापनको पक्षमा हैन ।” सदनमा कुरा उठाउने सोचमै थिएँ तर मेलोमेसो मिलेन,त्यहिवेला अरु माननियले उठाउनुभयो,मैले पनि उठाउन आवश्यक ठानिन ।”
सांसद लामाले संविधानभन्दा माथि कोही नरहेको उल्लेख गर्दै संविधानको सबै तहतप्काले अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो । सबै जातजाति,समुदाय वर्गको उत्थानका लागि लोकतान्त्रिक संविधान आएको भन्दै उहाँले यसको सफल कार्यन्वयनतर्फ ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
तामाङ न्हाङखोर,तामाङ डाजाङ,नाङसाल क्लव नेपाल,ताम्बा संघ नेपाल,कर्तव्य फाउण्डेशन लगायतका संस्थाहरुद्धारा आयोजित महोत्सवको छलफलमा सेसनमा सांसद लामाले समुदायको वृहत्तर हितका विषय अब साझा एजेन्डा बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –“अबको १० वर्षमा हामी र हाम्रो समुदाय कहाँ पुग्ने ? अब योजनाबद्ध लाग्न जरुरी छ ।” तामाङ समुदायको शैक्षिक तथा राजनतिक जस्ता अवस्था सुधारका लागि योजना बनाउन आवश्यक रहेको उहाँको धारणा छ ।
शनिबारसम्म चल्ने ज्ञान महोत्सवको पहिलो दिन विभिन्न ५ वटा कार्यपत्रमाथि छलफल गरिएको छ ।
तामाङ समुदायको मौलिक ज्ञान पुस्तान्तरण गर्नका साथै राजनीतिक आस्थाले विभाजित समुदायका अगुवालाई एक ठाउँमा उभ्याउन साझा मञ्च तयार पार्ने शिलशिलामा तामाङ पहिचान दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनायो ।
भिडियोसहित हेर्नुहोस् :