- चित्र तामाङ/भकुण्डे
भुकम्प पछिको पुनर्निमाणमा सहयोग पुर्याउने उदेश्यका साथ ह्याविटाट नेपाल र ए.एस.एफ. नेपालको कार्यालय नमोवुद्ध नगरपालिका भकुण्डेवेशीमा उद्घाटन गरिएको छ ।
नगरपालिका भित्रका जोखिम तथा विपन्न परिवारको आवास निर्माणमा ह्याविटाटले आर्थिक सहयोग गर्नेछ भने ए.एस.एफ. नेपालले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । ह्याविटाट नेपालले नमोवुद्ध नगरपालिका सँगै पाँचखाल नगरपालिकामा पनि आवास निर्माणमा सहयोग गरिरहेको छ । यस्तै मण्डनदेउपुर नगरपालिकामा पनि एकिकृत नमुना वस्तीको लागि प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
ह्याविटाट नेपालले आवास निर्माण सहयोग केन्द्र स्थापना गर्ने, सहयोगका लागि अन्य दातृ निकायसँग पहल गर्ने, भुकम्पीय अनुदानबारे आवश्यक सुचनाहरु जानकारी गराउने, निर्माण सामाग्रीहरुको बजार मुल्यको बारेमा सुची तयार पारी जानकारी गराउने लगायतका काम गर्दै आएको परियोजना अधिकृत सिमराज दनुवारले जानकारी दिनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफुहरुको काँधमा रहेको जिम्मेवारी बाँडफाँड गरी सहयोग गर्ने इच्छा देखाएकोमा परियोजनालाई धन्यवाद दिनुभएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर प्रतिनिधि हरी तिमल्सिनाले एकल, वृद्धवृद्धा नभएका र घर निर्माण गर्न नसक्ने गरिव परिवार भने छुट्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस नमोवुद्ध नगरसभापती कुन्साङ लामाले पुनर्निमाणका क्रममा विपन्न परिवारको आवास निर्माणमा प्राथमिकता दिन आग्रह गर्नुभयो । ह्याविटाट नेपालका कार्यक्रम संयोजक सुजित महर्जनले काम गर्दा कतिपय बेला नीतिगत व्यवस्थाका कारण अप्ठेरो परेको बताउनुभयो । कार्यक्रममा ए.एस.एफ. नेपालका कन्ट्रि डाइरेक्टर पवन श्रेष्ठको सभापतित्व रहेको थियो ।