• नमोबुद्ध संवाददाता

काठमाण्डौं– आफ्ना सांगीतक यात्राका क्रममा गायक अशोक मुकारुङले दर्जनौं स्टेज उक्लनुभयो,तिनमा अधिकांश स्टेज कमर्शीयल प्रयोजनमा थिए,यसपाली भने मुकारुङ सामाजिक⁄शैक्षिक अभियानका लागि गाउँदै गरेको भेटिनुभयो कमलपोखरीस्थित रसियन कल्चर सेन्टरको प्रेक्षालयमा ।

दर्जनौं गीत लोकप्रीय बनेका मुकारुङलाई यो एकल साँझमा उभ्याएको हो उर्वरा फाउन्डेशन नेपालले । जसले ग्रामीण पुस्तकालय निर्माण र अक्षयकोष स्थापनाका लागि शुक्रबार ‘अशोक मुकारुङ एकाल साँझ २०७५’आयोजना गरेको हो ।

‘जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर’

ढल्किँदै गएको साँझमा गायक मुकारुङले शान्त र शालीन हाउभाउमा साङ्गीतिक प्रस्तुतिको आरम्भ गर्नुभयो । बमबहादुर थापा जितालीको शब्द र भजनशिरोमणि भक्तराज आचार्यको सङ्गीत तथा स्वर रहेको उक्त गीतसँगै साङ्गीतिक साँझको सुरुवात गरेका गायक मुकारुङले सुरुवातमै भन्नुभयो–“आज अझ बढि गर्वकासाथ प्रस्तुत हुदैछ,एउटा सामाजिक अभियानमा सामेल हुन पाउँदा निकै खुसी लागेको छ ।”
‘सधैँ साथ दिन्छु भन्थ्यौ’, ‘गंगासरी तिमी बग्नू’, ‘तिमीबाट तिम्रो त्यो मन ।’

प्रेमप्रयण, समाज, प्रकृति, संस्कृति लगायतका विषयवस्तुका गीत ‘झुल्केको घामसँगै’, ‘इलामे शहर चियाबारी राम्रो’, ‘पिखुवा खोला’, ‘चैते दसैँ’, ‘हलचल भयो’, ‘पिरती भाका’, ‘पानी त चिसो’ सुनाउदै गर्दा दर्श उहाँका गीतमा झुमीसकेका थिए ।

अन्त्यमा उहाँले खेमराज गुरुङको शब्द तथा सङ्गीतको गीत सुनाएर माहौललाई उत्कर्षमा पु¥याउनुभयो जुन गीत हो –‘झम्के फुली लाएर कता हिँडेकी सानु ।’

कार्यक्रममा एक दर्जन गीत गाउनुभएका मुकारुङले ‘इलामे शहर’ गीतमा भने गायिका गंगा फियाकको साथ पाउनुभयो ।
पाँचथरमा जन्मिएका गायक मुकारुङ सिंगापुर पुलिस फोर्समा १८ वर्ष सेवा गरी हाल नेपालमा आएर अवकाशप्राप्त जीवनलाई गायनक्षेत्रमै समर्पित गरिरहनुभएको छ ।

कार्यक्रममा मुकारुङलाई सङ्गीतकार राजु सिंहको संयोजनमा मोहनकृष्ण कार्कीढली, नारायणदास कार्कीढली, मनोहर सुनाम, किशोर कार्कीढली, रविन कार्कीढली, अनुपदास, सुरज प्रधान, सञ्जीव लिम्बू, दिनेशराज रेग्मी, जयप्रकाश जोशी, जगन्नाथ दगुडा, भुपेन्द्र रसाइली, कुन्दन साह, बलराम समाल, हेमन्त कान्छा लगायतका सङ्गीतकर्मीले साथ दिनुभयो ।

गायक मुकारुङको पहिलो एकल साङ्गीतिक साँझमा पूर्व अर्थमन्त्री एवम् वरिष्ठ गीतकार एस्पी कोइराला र पूर्व संस्कृति, पर्यटन तथा नागकिर उड्डयनमन्त्री कृपासुर शेर्पा समेत सहभागि हुनुभयो ।

सामाजिक उद्देश्यले यसखाले कार्यक्रम आयोजना गरिएको उर्वरा फाउन्डेशन नेपालका अध्यक्ष देवकी अभिलाषीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !