
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–‘अबको प्रगतिशील लेखन’ बारे विषयमा प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार गहन विमर्श तथा छलफल गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लेखक तथा प्राज्ञहरु घोत्लीएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आयोजित गोष्ठी विचारको गहनतामा केन्द्रित भएको भन्दै साहित्यकारले देशमा भएको परिवर्तनलाई आत्मसात गरी सोहीअनुसार दृष्टिकोण बनाएर साहित्य लेख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रज्ञा–प्रतिष्ठान सबै विचारधारा बोक्ने स्रष्टाहरूको साझा संस्था भएकाले सबैसँग सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले युद्धप्रसाद मिश्रको योगदानको चर्चा गर्दै भन्नुुभयो, “जीवनको उत्तराद्र्धसम्म पनि प्रगतिशील विचारमा मिश्र प्रतिबद्ध रहनुभयो ।”
सदस्य सचिव प्रा. उपाध्यायले प्रगतिशील विचार धारण गर्ने साहित्यकारहरूले समाज र समुदायका भावनासँग जोडिएका विषयलाई छुँदा विचार गर्नुपर्ने बताउनुभयो । प्रगतिशील लेखकहरूले समाजलाई रूपान्तरण गराउन सर्वप्रथम आफैँ रूपान्तरित हुनुपर्नेमा उहाँको जोड थियो ।
प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभागका प्रमुख एवम् कार्यक्रमका संयोजक प्रा.डा. गोपीन्द पौडेलले मिश्र एकमात्र प्रखर राजतन्त्र विरोधी कवि भएको बताउनुभयो । उहाँले नेपालको प्रगतिशील लेखनयात्रा निकै लामो भएता पनि अबको लेखन कस्तो हुनुपर्ने भन्ने सवालमा भने कोही पनि प्रष्ट हुन नसकिरहेको स्थिति औंल्याउनुभयो ।
यसै सन्दर्भमा छलफल र विमर्श गरी निस्कर्ष निकाल्ने उद्देश्यले युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानसँग मिलेर यसखालको कार्यक्रम आयोजना गरिएको संयोजक पौडेलले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयले ‘अबको प्रगतिशील लेखन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रगतिशील लेखकहरूले चिन्तनको तरिका र मस्तिष्कको पद्धतिमै परिवर्तन ल्याउनु आवश्यक देखिएको उल्लेख गर्नुभयो ।
कवि स्नेह सायमीले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ सभा सदस्य तथा समालोचक डा. गीता त्रिपाठी, कवि वासुदेव अधिकारी र कवि तथा आख्यानकार सरल सहयात्रीले प्रा.डा. पाण्डेयको कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । अधिकारीले ‘प्रगतिशील आन्दोलन भालेमौरीहरूको जमातजस्तो’ भएको भन्दै प्रगतिशील लेखनका अगुवाहरू रानीमौरी हुनुपर्ने धारणा राख्नुभयो ।
प्राज्ञ सभा सदस्य नन्दु उप्रेतीले संचालन गर्नुभएको कार्यक्रमको छलफलमा चीनका लागि नेपालका पूर्व राजदूत डा. महेश मास्के, प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, पूर्व अध्यक्ष मातृका पोखरेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, डा. रामप्रसाद ज्ञवाली, डा. सावित्रीकुमार कक्षपति मल्ल, डा. पुष्करराज भट्ट, डा. बालाकृष्ण अधिकारी, हरिहर खनाल, कमला ओली, सरोजदिलु विश्वकर्मा, आरसी न्यौपाने, रामकृष्ण दुवाल, तोयानाथ भट्टराई, गोपाल अश्क, तारा गाउँले, राम विनय लगायतले आ–आफ्ना विचार व्यक्त गर्नुभएको प्राज्ञ तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिनुभयो ।