
- नमोबुद्ध संवाददाता
धुलिखेल–जुन ५ तारिख,बुधबार विश्वभरीझैं काभ्रेका स्थानिय तहले पनि विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका छन् । कतै र्याली त कतै अन्तरक्रिया र छलफल कार्यक्रम भए, प्राय सबै ठाउँमा विरुवा रोपण कार्यक्रम भएका छन् ।
काठमाण्डौं सिंहदरबार परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ लाई यसपटक पनि निरन्तरता दिनुभएको छ भने काभ्रेको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले पनि आफ्नो स्थानिय तहमा वृक्षरोपण गर्नुभयो ।
वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधि, प्रमुख शर्माका साथै उपप्रमुख रामदेवी तामाङ, महिला स्वास्थ्य स्वयमसेविका,स्थानिय र केहि कर्मचारीहरुको पनि सहभागिता रह्यो ।
वातावरण जोगाउने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको नगर प्रमुख शर्माले बताउनुभयो । सिंगो नगरपालिकालाई नै हरित नगर बनाउने लक्ष राखेको नगरपालिकाले वातावरणीय संरक्षणको आवश्यकता महसुुस गर्नु स्वाभाविक रहेको उहाँको भनाई छ ।
यस्ता कार्यक्रमलाई वातावरण दिवसमा मात्रै सिमीत नराखी योजनाबद्ध रुपमा ठोस गतिविधिका साथ अघि बढाउने सोच रहेको प्रमुख शर्माले जनाउनुभयो ।
यसक्रममा आफ्नो नगरपालिका क्षेत्रको भकुण्डेमा रहेका इट्टा उद्योगलाई हटाउन नगरप्रमुख शर्माले गर्नुभएको पहललाई स्थानियले प्रशंसा गरिरहेका छन् ।
सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्वका विभिन्न मुलुकमा विश्व वातावरण दिवस मनाउन सुरु गरिएको थियो ।
पछिल्लो समय विश्वभरी नै वातावरण जोगाउन पहल गर्दै विभिन्न जनचेतनामुलक कार्यक्रम गरी वातावरण दिवस मनाउने गरिएको छ । विश्वभरी सञ्चालित उद्योग, कलकाराखानाको रसायन र प्लास्टिकको प्रयोगले वातावरण प्रदुषण बढ्दै गएको छ ।
विशेषतःयस्तो अवस्था विकसित मुलुकहरुमा बढि देखिन्छ । जसले गर्दा ओजनतहमा क्षति हुन गई पृथ्बीको आयुनै छिटोभन्दा छिटो घट्दो छ ।