- नमोबुद्ध संवाददाता
धुलिखेल–पश्चिमा तामाङ समुदायबाट तामाङ चलचित्र जगतमा उदाएका रोशन फ्युबा सांगीतिक क्षेत्रका लागि पनि नौलो नाम भने हैन । फ्युबाको पछिल्लो सांगीतिक कोसेली ‘गोरी गोरी २’ बाट यो कुराको पुष्टि हुन्छ ।
क्रियटिभ क्षमतासाथ स्वतन्त्र धारबाट तामाङ चलचित्र जगतको विद्यमान मनस्थितीलाई चिर्न हदैसम्म संघर्षरत फ्युबाको परिचयलाई यो गीतले अझ फराकिलो बनाउने काम गरेको छ ।
पछिल्लो समय ‘श्होङ’ चलचित्र रिलिज लगत्तै यहि गीत ‘गोरी गोरी २’ मा केन्द्रित हुनुभयो फ्युबा । चलचित्रका निर्देशक उहाँ यसपटक गायकीपन लिएर स्रोता दर्शकमाफ आउनुभएको हो ।
उहाँकै शब्द,संगीत र स्वरमा रहेको गीतमा भुटानी नायिका उग्येन् छोदेन र नेपालका चर्चित नायक पल शाहको अभिनय देख्न सकिन्छ । आधुनिक शैली तर सेलो ठेटपनको जीवन भेटिने खालको यो गीतमा लोभलाग्दो साँस्कृतिक रङ्ग दिएर कलाकारलाई नचाइएको छ । यसमा छोदेन र शाहसंगै म्हेन्दोमाया गायिका छिमी मम्बा लगायतको पनि अभिनय छ ।
ल्हाप्साङकर्पो म्युजिक सेन्टरले निर्माण गरेको यस भिडियोलाई हालै ल्हाप्साङकर्पोकै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
‘गोरी गोरी १’ को सफलताकै कारण ‘गोरी गोरी २’ ल्याउन हौसला मिलेको निर्देशक तथा गायक फ्युबाले बताउनुभयो ।
उहाँका अनुसार ‘गोरी गोरी गीत २’ लाई १० भाषामा सबटाइटल गरिएको छ । गीतको भाव तामाङ,नेपाली(खस),तिब्बेतियन,भुटानी जोङ्खा,चाईनिज,जापनिज,कोरियन लगायत भाषाबाट खुलाइएको छ ।
युट्युवमा दर्शकले आफू अनुकुलका सब सबटाइटलसहित हेर्न सकिने गायक फ्युबाले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘हाम्रो कला संस्कृतिलाई विश्वमाझ पुर्याउने उद्देश्य अनुरुपको प्रयास हो यो, गीत संगीतको माध्यमबाट पनि अन्तरदेशीय रुपमा संस्कृति आदानप्रदान गर्न सकिन्छ भन्ने हो,यसमा भुटानी नायिकाको साथ पाउनु झनै राम्रो पाटो रह्यो ।’
यो खालको प्रयासले नेपाली गीत संगीतको दायरा फराकिलो बन्दै जाने र यसले संसारभर नेपाली साँस्कृतिक विविधताबारे सन्देश प्रवाहमा सकारात्मक मद्धत पुग्ने उहाँको दावी छ ।
टेकेन्द्र शाहले निर्देशन गर्नुभएको यो गीतको भिडियो सातादिन नबित्तै करीव ३ लाख दर्शकले हेरेका छन् । राम कुमार केसीले छायांकन गर्नुभएको म्युजिक भिडियोको सम्पादन गायक फ्युबा स्वयम्ले गर्नुभएको हो ।
भिडियो हेर्नुहोस् :