
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–सांस्कृतिक संस्थानले नेपालको समग्र गौरवगाथा समेटिएको ऐतिहासिक गीति नाटक ‘गौरव–गाथा’ यहि जेठ २० गते सोमबार मञ्चन गर्ने भएको छ ।
संस्थानको हल (राष्ट्रिय नाचघर) जमलमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा साँझ ठिक ६ बजे मञ्चन गरिने यो नाटक बरिष्ठ लेखक तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले लेख्नुभएको हो,यसको सह–लेखन भने डा. देवी नेपालको रहेको छ ।
गीति नाटकमा प्रसिद्ध सङ्गीतकार एवम् प्राज्ञ अशोक लोहोरुङ राईले सङ्गीत दिनुभएको छ । वीरेन्द्र हमाल निर्देशित नाटकमा गोरन चौधरीको नृत्य निर्देशन देख्न सकिन्छ ।
सङ्गीतकार एवम् प्राज्ञ राईका अनुसार ‘नेपाल–गाथा’ गीति नाटकमा राष्ट्रवन्दना, बुद्ध सन्देश, नेपालको एकीकरण, नालापानीको युद्ध, योगमाया विद्रोह, गङ्गालालको सहादत, नयाँ अरुणोदय, रामप्रसाद राई र पूर्व विद्रोह, किसान आन्दोलन, भीमदत्तको विद्रोह, वीपी र जननिर्वा्चित सरकार, पञ्चायती कालरात्रि, सुखानी काण्ड जस्ता विविध खण्डहरु छन् ।
साथै रत्न बान्वतवाको सहादत र छिन्ताङ–पिस्कर हत्याकाण्ड,४६ को जनआन्दोलन, मदन भण्डारी व्यक्तिचित्र, दासढुङ्गाकाण्ड, जनताको नौ महिने सरकार, सशस्त्र द्वन्द्व, जनक्रान्ति र गणतन्त्र स्थापना, विनासकारी भुइँचालो र समाजवादी सपना गरी २२ खण्डहरू रहेको उहाँले स्पष्ट पार्नुभयो ।
यो नाटक जेठ २० गतेपछि पनि नियमित मञ्चन गर्ने तयारी भईरहेको सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले जानकारी दिनुभयो ।