• नमोबुद्ध संवाददाता

कवि फूलमान वलका १२ कविता सुने लगत्तै बिहिबार बरिष्ठ लेखक एवं राजनीतिकर्मी रघुजी पन्तले प्रतिक्रिया दिदै भन्नुभयो–“कविताहरु शसक्त र उत्कृष्ठ लाग्यो,फूलमानका कविताहरु सौम्य र सालिन व्रिदोही चेतनाले भरिएको छ,यो वलको लेखन शैलीको विशेषता हो ।”

राजधानीको जमलस्थित नाचघरमा सांस्कृतिक संस्थानको एकल कविता वाचन श्रृंखला ‘स्रष्टा र सिर्जना’अन्तर्गत १४ औं शृंखलामा कवि वलको प्रस्तुतीपछि बरिष्ठ लेखक पन्तले यस्तो बताउनुभएको हो ।

कसैलाई नविझ्ने शैलीमा गम्भीर कुराहरु कवितामार्फत व्यक्त गर्न सक्नु कवि वलको खुबी भएको उहाँको भनाई छ । तामाङ समुदायलाई तत्कालिन राज्य सत्ताले विभेद गरेको स्पष्ट पार्दै ति उत्पीडनका आवाज वलका कवितामा आउनु स्वाभाविक र महत्वपूर्ण रहेको पन्तको धारणा छ ।

 

कवितामाथि समीक्षा गर्दै साहित्यकार वासुदेव अधिकारीले पनि वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिने बताउनुभयो । तामाङ समुदायभित्रको विम्वको प्रयोगले कविता सुन्दर र सक्तिशाली बन्न पुगेको टिप्पणी उहाँको छ ।

आफ्नो पहिचानको मुद्धा उठाईरहँदा सबै मान्छेबिचको सद्भाव र सहअस्तीत्वको चेतना जोड्न सक्नु कविको महानता रहेको उहाँको भनाई छ । वलका कवितामा अहंकारबाट माथि उठेर आफ्नो धरातल नविर्सिने सन्देश मिल्ने अधिकारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–“वलका कवितामा जातिय चेनता र संस्कृतिक कुरा छन् तर भड्काउने,जुधाउने कुरा छैन–मतलब अहंकार छैन,संकीर्णता छैन, यसको पुष्ट्याईं वलको कविता ‘इन्द्रेणी गीत’ मार्फत सहजै मिल्छ ।”

राष्ट्रिय सांस्कृतिक संस्थान नचाघरका महाप्रवन्धक राजेश थापाले स्रष्टाहरुको सम्मानमा हरेक महिनाको तेस्रो विहीबार श्रृंखलालाई निरन्तरता दिदै जाने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ लेखक रघुजी पन्त,बासुदेव अधिकारी,अनिल पौडेल,देवी नेपाल,माया ठकुरी,खगेन्द्र राई जस्ता दिग्गज व्यक्तिहरुको उपस्थिति रहेकोमा बरिष्ठ लेखक पन्त र अधिकारीको प्रशिक्षणात्मक प्रस्तुतीले झनै रोचकता थपेको महाप्रवन्धक थापाले बताउनुभयो ।
यो पटकको शृंखलामा पत्रकार,कथाकार,नाटककारका साथै चलचित्रकर्मीको समेत छवि बनाउदै गर्नुभएका कवि वललाई प्रस्तुत गर्न पाउनु गर्वको कुरा रहेको उहाँको भनाई छ ।

कवि वलले यो शृंखलामा ‘आजका मान्छे’ ‘शीतलहर’, ‘बुद्धसँग जम्काभेट’‘दोस्रो जुनी’ ‘इन्द्रेणी गीत’, ‘बाग्मतीको आत्मलाप’, ‘भ्यालेन्टाइन्स डेको जुन’, ‘निद्रा’,प्रेम र किड्नी‘ लगायत शीर्षकको कविता प्रस्तुत गर्नुभयो,साहित्यकार अनिता लामाले वलको ‘भुइँचालो’ कविता सुनाउन सघाउनुभयो ।

एक कथासंग्रह, एक कविता संग्रह र दूई नाट्य कृति प्रकाशित भइसकेका पत्रकार तथा कवि वलको बिहिबार ‘म फूल हुँ’ बोलको गीत पनि भिडियोसहित सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !