• नमोबुद्ध संवाददाता

नमोबुद्ध–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि पाएको यो शुक्रबार दुई वर्ष पूरा भएको छ । यो बिचमा जनतामाझ प्रवाह भएको सेवा तथा विकास निर्माणबारे स्थानियको चासो हुनु स्वाभाविक हो ।

यिनै चासोका बिच शुक्रबार यस नगर कार्यपालिकाको कार्यालयले जनप्रतिनिधिको दोस्रो पदवहालि दिवसको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ विषयक समिक्षात्मक कार्यक्रम नै आयोजना गरेको छ ।

कार्यक्रममा सहभागि नगरवासी,यहाँ कार्यरत कर्मचारी,विभिन्न संघसंस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि लगायतको प्रतिक्रिया सुन्दा स्पष्ट हुन्थ्यो जनतामा विश्वास बढ्दो छ,विकास निर्माणले तिव्रता पाएको छ ।

समिक्षात्मक कार्यक्रमका प्रमुख अतिथि काभ्रे क्षेत्र नम्बर १,प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ(बमध्वज)ले भन्नुभयो–“जनतामा आशा धेरै छ,पुरा गर्न समय लाग्ला,सानातिना कुरामा अड्कीन हुदैन,काम गर्दै जाअौं,अहिलेसम्मको स्थितीमा हामीप्रति जनताको विश्वास अझै बढ्दो छ ।”

यहि विश्वासलाई काममा बदल्ने शक्तिको रुपमा प्रयोग गर्न सके ‘समृद्ध नेपाल,सुखी नेपाली’को परिकल्पनाले साकार रुप लिने उहाँको धारणा छ ।

स्थानिय विकास निर्माणमा केन्द्रको मात्रै मुख नताक्न आग्रह गर्दै उहाँले स्थानिय स्रोत र साधनको खोजी र तिनको परिचालनमा विशेष ध्यान दिएर लागे नगर आत्मनिर्भर हुने बताउनुभयो ।

३ नम्बर प्रदेसभा सदस्य द्धय चन्द्र लामा र रत्न ढकालले जनता निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । विकासको प्रमुख पूर्वाधार सडक,खानेपानी लगायतको पाटोमा अहिले प्रमुख ध्यान गएको उल्लेख गर्दै उहाँहरुले संघ,प्रदेश र स्थानिय सरकारकै समन्वयमा विकासका कामहरु भईरहेको स्पष्ट पार्नुभयो ।

नीति,कार्यविधि बनाउँदै अघि बढ्नुपर्दा एकैचोटी सफलता प्राप्त गर्न भने चुनौती रहेको प्रदेशसभा सदस्य लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो–“केहि नीतिगत समस्या छन्,केहि नियतका समस्या छन्,लामो समय कर्मचारीको भरमा चलेको निकायहरुमा जनप्रतिनिधिसँग सहज समन्वय छैन,कतै नीति फुकाउनुपर्ने हुन्छ,कतै कर्मचारी टेर्दैनन् त्यसैले केहि ढिला त भएको हो तर ढुक्क हुनुहोस् हामी जनप्रतिनिधि जनताको विकास निर्माणमै अहोरात्र खटिरहेका छौं,नमोबुद्ध नगर लगायत मेरा निर्वाचन निर्वाचन क्षेत्रका अन्य ठाउँहरुमा समेत विकासले गति लिएकै छ ।
कार्यक्रममा दुई वर्षभित्र सम्पन्न भएका र हाल चालु रहेका विकास निर्माण तथा उपलब्धीबारे प्रमुख प्रशासकिय अधिकृतबाट जानकारी प्रस्तुत गरिएकोबाट पनि नमोबुद्ध नगरपालिकाभित्र सानादेखी ठूलासम्म विकास कार्यक्रहरु भईरहेको स्पष्ट हुन्थ्यो,जसबाट नगर कार्यापालिकाको कामकारवाहीप्रति नागरिक आस्वस्त हुने प्रसस्तै ठाउँ मिल्दथ्यो ।

नगरप्रमुख टिपी शर्माले आफू लगायतका जनप्रतिनिधि सेवाभावका साथ लागि परेको बताउनुभयो । नमोबुद्ध नगरको मुहार फेर्ने परिकल्पनाका साथ विविध योजना अगाडी सारिएको उहाँले जानकारी दिनुभयो ।

नगरको भकुण्डेबजार बालश्रममुक्त गराईसकेको जानकारी दिनुहुदै उहाँले बालमैत्री नगर,सुशासनयुक्त नगर,हरित नगर,उज्यालो नगर,सम्पन्न नगर बनाउने दृढ संकल्प बोकेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रमुख शर्माले यसबारे विस्तृत जानकारी नगर पुस्तिकामा छिट्टै प्रकाशनमा ल्याउने पनि बताउनुभयो ।

उहाँले नगरभित्र भुकम्पपछिको पुनःनिर्माण,कृषि,पशु,सामाजिक सुरक्षा,स्वास्थ्य,महिला तथा बालबालिका,वातावरण सरसफाई तथा विपद व्यवस्थापन,शिक्षा,सडक,खानेपानी तथा सिँञ्चाई,स्तुपा र मन्दिर निर्माण,कर संकलन,रोजगार केन्द्र स्थापना र रोजगार विकास कार्यक्रम लगायतका पाटोमा यो दुई वर्षे अवधिमा सुरुवातका साथै उल्लेख्य मात्रामा प्रगाति हाँसील गरेको दावी गर्नुभयो ।

प्रमुख शर्माले नगरको बजेटले मात्रै एकै पटक आँट्न नसकिने करोडौं खर्च लाग्ने मुख्य मुख्य केहि सडकको स्तर उन्नती तथा कालोपत्रेका लागि डिपिआर सहितको जानकारी प्रदेश र संघका प्रतितिधिलाई दिएकोमा सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

बुद्ध सर्किटको अवधारणा,स्टाफ कलेज बने कयौंले रोजगार पाउने

नमोबुद्ध नगर कार्यापालिकाको कार्यालयका जनप्रतितिनिधिहरुले जिम्मेवारी सम्हालेको दुई वर्षको काम कारवाहीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरियो ।
जनताप्रति उत्तदरदायि र जवाफदेही भई सुशासनमैत्री नगरको अवधारणा बमोजिम हरेक कामहरु गर्ने गरेको प्रमुख शर्माको दावी छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख शर्माले पत्रकारहरुबाट सल्लाह सुझाव समेत माग गर्नुभयो ।

नगरमा प्रवद्र्धन गर्न सकिने साँस्कृतिक पर्यटन,युवा रोजगार कार्यक्रमबारे पत्रकारहरुको जिज्ञासामा प्रमुख शर्माले भन्नुभयो–“स्थानिय क्षेत्रमै रोजगार खुल्ने अवस्थाहरु बनाउँदैछौं,अब अन्तराष्ट्रिय स्तरमै स्टाफ कलेज खोल्दैछौं,यो तालिम केन्द्र दुई नम्बर वडामा बन्ने निश्चत छ, जहाँ सात सय सम्मले रोजगार पाउँनेछन् । यसका साथै युवा रोजगारमूखी तालिमहरु दिने,रोजगारमुखी कार्यक्रमहरु बनाउने लगायतका कामहरु भइरहेको छ ।”

उहाँले निकट समयमै दाप्चा काँक्रे क्षेत्र लगायत स्थानका बाटो पिच गर्ने तयारीका साथै दाप्चा,फूलबारी लगायतको क्षेत्रमा होमस्टेको बसाउने योजना सुनाउनुभयो ।

विश्वमा चिनाउने हिसावले नमोबुद्ध नामनै काफी रहेको उल्लेख गर्दै उहाँले पर्यटक भित्राउन,उनिहरुलाई राम्रो सेवा दिन,धेरै दिन घुम्ने वातावरण बनाउन होमस्टे तथा होटल व्यवस्थापनमा ध्यान दिएको बताउनुभयो ।

पर्यटकहरुलाई लक्षित गर्दै नमोबुद्ध क्षेत्रमा सुचना केन्द्र स्थापना गरिसकेको उहाँको भनाई छ ।

यसमा नमोबुद्ध–तेमाल बुद्ध सर्किटको अवधारणा जोडिएको जानकारी उहाँले दिनुभयो । यसअनुरुप नमोबुद्ध नगरका डाँडा डाँडाहरुमा स्तुप तथा बुद्ध मुर्तिहरु बनाउने,ध्यानस्थलहरु बनाउने कामको थालनी भईसकेको बताउनुभयो ।

पर्यटकहरु नमोबुद्धमा एकै दिनमा आउने र जाने अवस्थाको अन्त्य गरी पर्यटक टिकाउने योजना यसमा जोडिएको उहाँको भनाई छ ।

स्थानिय जीवन,कला संस्कृति अवलोकन तथा तामाङ राजा ह्रिञ्जेन दोर्जे र तामाङ सभ्यताको आदिम थलो गुरु पद्यसम्भवको तपश्यस्थल रहेको तेमालसम्म जोडिन पनि नमोबुद्ध–तेमाल बुद्ध सर्किट अवधारणा अघि सारिएको स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख शर्माले नमोबुद्ध नगरको पुरानो एतिहासीक दाप्चा बजारको पुनरुत्थानको काम पनि थालिएको बताउनुभयो । उहाँले भन्नुभयो–“भुकम्पले निकै क्षति पुर्याएको दाप्चा बजारलाई पुरानै मुहार दिन निकै मुस्किल छ,केहि चुनौतीकै बिच काम थालिेका छौं,पहिलो चरणमा प्राविधिकसँगका केहि कामहरु भएका छन् ।”

प्रतिक्रिया दिनुहोस !