- नमोबुद्ध संवाददाता
बनेपा–महिना दिन नपुग्दै तामाङ चलचित्र ‘छार ग्यालम’(नयाँ बाटो) विभिन्न तीन स्थानका हलहरुमा प्रदर्शन गरिएको छ ।
बैशाख १६ गते काठमाण्डौं जमलस्थित नाचघरमा प्रिमियर–शो भएको यस चलचित्र भक्तपुरको बाराही हल हुदै यो शनिबार काभ्रेको बनेपास्थित मयुर हलमा प्रदर्शन गरिएको निर्मात्री दिपा वाइबाले जानकारी दिनुभयो ।
बनेपाको शो राम्रै भएको प्रतिक्रिया दिदै उहाँले भन्नुभयो–“तामाङ चलचित्र तामाङ दर्शकको पहुँचमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा हो, सामाजिक रुपान्तरणको सन्देश बोकेको यो चलचित्र अरु समुदायका दर्शकलाई पनि समेट्ने गरी सकेसम्म सबै हलहरुमा पनि प्रदर्शन गर्न सकिने बारेमा छलफल भईरहेको छ ।”
अत्याधुनिक प्रविधि अपनाइएको चलचित्र तामाङ र नेपाली(खस) भाषामा तयार पारिएकोले तामाङ बाहेक अन्य समुदायका दर्शकको पहुँचमा समेत पुर्याउन सकिने निर्माण टोलीले जनाएको हो ।
नायक कुमार मोक्तानको आसय पनि यस्तै छ । शनिबार बनेपाको शोमा पनि भेटिएका नायक मोक्तान हाँसीलो मुद्रामा दर्शकलाई आत्मीय स्वागत गर्न व्यस्त हुनुहुन्थ्यो । दर्शकको आगमन जत्ति बढ्दैथिए उहाँ उत्तिनै उत्साही हुनुहुन्थ्यो ।
बनेपाको शो हेर्न आएका प्राय दर्शकले चलचित्रको सबैभन्दा राम्रो पक्ष प्राविधिक पाटोलाई मानेका छन् । हाई भिजुअल क्वालिटीका कारण मिडिया प्लेयरले सपोर्ट नगर्दा बेला बेला रोकिएपनि दर्शकले धैर्यधारणका साथ चलचित्र हेरे । उनिहरुले चलचित्रको कथालाई अझ तामाङ कल्चरप्रधान गर्न सकिनेमा पनि जोड दिए ।
अन्तत : महिना दिन नबित्दै छार ग्यालमको तीन शो भएकोबाट सहजै बुझ्न सकिन्छकी,पछिल्ला निर्माताहरु तामाङ चलचित्र च्यारिटि शोमा मात्रै सिमीत नराखी दर्शकमाझनै पुर्याउन खोज्दैछन्,आफ्ना चलचित्र कृति दर्शकमाझ पस्किन तयार छन् ।
कोशीपारी फिल्मस् प्रालिको व्यानरमा निर्मित,सागर लामा गोलेको प्रस्तुती छार ग्यालाम धन बहादुर तामाङ (सागर) को कथा तथा पटककथामा तयार भएको हो,जुन स्वयम् धनबहादुरलेनै निर्देशन गर्नु भएको हो ।
दिपाका साथै पविना तामाङ,बुद्दमाया तामाङ,इन्द्रमाया तामाङ, कुमारी तामाङ लगायतको निर्माण टोली रहेको चलचित्रमा नायक कुमार मोक्तान र नायिका सुनिता लुङ्बा तथा राहुल मोक्तान र संगीता दोङको मुख्य अभिनय छ । छार ग्यालममा ध्रुव तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइबा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले पनि खेलेका छन् ।