• नमोबुद्ध संवाददाता

काठमाण्डौं–सरकारी सार्वजनिक र गुठीको जग्गाको संरक्षण सम्बन्धी जाँचबुझ गर्न सरकारले मोहन भट्टराईको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको छ ।

सार्वजनिक र गुठी जग्गाको समेत भोगचलनमा वेथिती,अनियमितता हुने गरेका खबरहरु आउन थालेको बेला सरकारले ६ महिनाको कार्यअवधि सहित भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा जानकी बल्लभ अधिकारी, दुर्गा दाहाल, जगतबहादुर देउजा समिति सदस्य रहनुभएको छ ।

प्रदेश सरकार अन्तर्गत रहेका सेती राजमार्ग उत्तर खण्ड टिकापुर (चैनपुर चाक्लाकोट) लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याई सञ्चालन गर्ने, प्रत्येक वर्ष जेठ १६ गतेलाई महिला अधिकार दिवसको रूपमा मनाउने, वर्ष २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रूपमा मनाउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघ प्रदेश र स्थानीय तहमा पर्ने विकाससम्बन्धी आयोजनाहरूको वर्गिकरण तथा बाँडफाँड सम्बन्धी मापदण्द स्विकृत गर्ने, आयोजनाहरूको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस !