• नमोबुद्ध संवाददाता

काठमाण्डौं–गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो–“घटना दुखद, विभत्स प्रकृतिको छ, यस किसिमका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न गरिरहेका छौं ।”

बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै थापाले घटना गराउने व्यक्तिको खोजतलास भइरहेको स्पष्ट पार्नुभएको हो । उहाँले प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँका अनुसार घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

घटनामा भागेर बाँच्न सफल बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।

सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस !