- नमोबुद्ध संवाददाता
मोरङ–साहित्य, कला तथा गीत–सङ्गीतमा गहिरो अभिरुचि राख्ने बेलबारी सुन्दरहरैँचा नगरकार्यपालिका सदस्य एवम् समाजसेवी भक्तकिरण राईले स्थानिय विद्यार्थीहरूलाई आइतबार आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गर्नुभएको छ ।
विद्यार्थीहरू नियमित रूपमा विद्यालय आऊन् र विद्यार्थी भर्ना सङ्ख्या बढ्न मद्दत पुगोस् भन्ने उद्देश्यले सुन्दरहरैँचा –५ अवस्थित श्रीलाल आधारभूत विद्यालयमा पढ्ने ९५ जना विद्यार्थीहरुलाई पोसाक वितरण गर्नुभएको राईले जानकारी दिनुभयो ।
राईले नगरकार्यपालिकाको बैठक बसेबापत् आफूले पाउने भत्ता जोहो गरेर यस्तै सामाजिक कार्यमा खर्चने गरेको बताउनुभयो । उहाँले टिनको छानो भएको उक्त एकतले विद्यालयका विद्यार्थीहरूलाई गर्मी र जाडोको मौसममा पनि सहज ढङ्गले पठन–पाठनमा सघाऊ पुगोस् भन्ने उद्देश्यले विद्यालयमा सिलिङ लगाइदिने वचन समेत दिनुभएको छ । राईले केही समयअघि उक्त वडाको मुसहर बस्तीकी एक विपन्न सुत्केरीका लागि आवास बनाइदिनुभएको थियो ।
मनकारी दाताहरूको सहयोगकै कारण यसै वर्षदेखि अङ्गे्रजी माध्यमबाटसमेत पठन–पाठन सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक राजु गौतमले बताउनुभयो । दाताहरूबाट यसरी नै सहयोग बढ्दै गएमा विद्यालयले अपेक्षाकृत उपलब्धि हासिल गर्दै जाने गौतमको भनाई छ ।
सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यम जरूरी ठानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम घिमिरेको भनाई छ । उहाँले राईको यसखाले सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार गत वर्ष ७३ जना मात्रै विद्यार्थी रहेको यो विद्यालयमा चालु वर्ष ९५ जना विद्यार्थी पुगेका छन ।