• नमोबुद्ध संवाददाता

काठमाण्डौं–भोजपुरे सर्जकहरुको संयुक्त गजल सङ्ग्रह “खुकुरीका धारहरु” बजारमा आएको छ । कृतिको हालै डा. केदार न्यौपाने,डा. नरनाथ लुईंटेल,साहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल र कृतिका सम्पादक नवीन प्रधानले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

आधुनिक साहित्य परिषद र गौरी पब्लिक रिलेशन एन्ड पब्लिकेशनको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथी डा. केदार न्यौपानेले भोजपुरको साहित्यलाई नहेर्ने हो भने नेपाली साहित्य अधुरो हुने बताउँदै पछिल्लो समय छरिएर रहेका सर्जकलाई खुकुरीका धारहरु गजल सङ्ग्रहले एकत्रीत गर्न भूमिका खेलेको धारणा राख्नुभयो ।

उहाँले भोजपुरका साहित्य स्रष्टाहरु एक हुन आवश्यक रहेको भन्दै सो कृतिले एकताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार एवम् समीक्षक डा. नरनाथ लुईँटेलले कार्यक्रमा वाचित रचनाहरुबाट आफू प्रभावित भएको बताउनुभयो । भोजपुर राजनीतिक, शैक्षिक, कला साहित्यिक लगायतका क्षेत्रमा अगाडि रहेको भन्दै उहाँले पछिल्लो समयका स्रष्टाहरुले प्रख्यात भोजपुरे खुकुरीको जस्तै धारिला सिर्जना गर्न थालेको प्रती खुसी व्यक्त गर्नुभयो ।

कृतिका सम्पादक प्रधानले धेरै समय अगाडिदेखिको भोजपुरे सर्जकहरुलाई समेट्ने सपना पूरा भएको बताउनुभयो ।
उहाँले आफ्नो सपनाप्रती सकरात्मक भै अहोरात्र खट्ने बाबुराम लुईंटेल, पर्शुराम कार्की लगायत प्रकाशक र अग्रज साहित्यकारप्रती खुसी व्यक्त गर्नुभयो । उहाँले भोजपुरको साहित्यिक इतिहासमा खुकुरीका धारहरुले एउटा ईंटा थप्ने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

सङ्ग्रहभित्र सर्जकहरुका अनुभुति,सामाजिक परिवेश जस्ता विषयका गजलहरु समावेश छन् ।

आयोजक आधुनिक साहित्य परिषदका अध्यक्ष तथा कवि मुरलीप्रसाद ढकालले भोजपुरे सर्जकहरुसँग सहकार्य गर्दै अगाडि बढ्न पाएकोमा खुसी लागेको बताउँदै कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यसैबीच यहि समारोहमा आधुनिक साहित्य परिषदको आयोजनामा विशेष गजल तथा कविता वाचन कार्यक्रम पनि भएको छ । जहाँ अग्रज साहित्यकारदेखी अहिलेका युवा साहित्यकारसम्मले आफ्ना रचना वाचन गरे ।

कार्यक्रममा भोजपुरमा जन्मिएर साहित्य कर्मलाई अगाडि बढाइरहेका स्रष्टा डा. शैलेन्दु प्रकाश नेपाल, महेश क्षितिज, दामोदर ढकाल’दीपक’,नवीन प्रधान, सुनिता सापकोटा र बि एन ढकाल लगायतले आफ्ना रचना वाचन गर्नुभएको साहित्यकार एवम् प्राज्ञ शशी लुमुम्बूले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !