- नमोबुद्ध संवाददाता
काठमाडौं–हजारौं दर्शकमाझ भव्यताका साथ शनिबार चलचित्र ‘ल्हुई ह्रो’ (जिन्दगिको साथी-लाइफ पार्टनर) को प्रिमियर शो भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको शोमा सर्वसाधारण दर्शकका साथै चलचित्रकर्मी,पत्रकार,बुद्धिजीवि,विभिन्न संघसंस्थाका प्रतिनिधि समेत सहभागि भए ।
अधिकांश तामाङ कलकाकारहरुद्धारा अभिनित यो चलचित्रलाई दर्शकले मसलेदार चलचित्रको संज्ञा दिए । “मनोरञ्जन त छँदै थियो सन्देश पनि पायौं”–चलचित्र प्रदर्शन सकिएपछि तेमाल २ का अजय लामाले प्रतिक्रिया दिदै भन्नुभयो–“हाम्रो राजनीति र प्रेमको कुरा छर्लंग पारेको रहेछ,कलाकारहरु पनि प्राय सबै तामाङ रहेछन्,तामाङ कलकाकारहरु समेत नेपाली(खस) चलचित्र बनाउन सक्षम छन् भन्ने लाग्यो ।”
नमोबुद्धका सनिका तामाङले पनि चलचित्र सोलोडोलोमा ठिकै लागेको प्रतिक्रिया दिनुभयो । उहाँले कथाबस्तुलाई सान्दर्भिक बनाउन खोजेको पाटो अझ राम्रो लागेको बताउनुभयो ।
आगामी दिनमा ‘लाइफ पार्टनर’ नामाकरणका साथ सबै दर्शकलाई लक्षित गरी अन्य हलहरुमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको निर्देशक विनायक तामाङले जानकारी दिनुभयो ।
यसअघि विभिन्न ८ वटा चलचित्र तामाङ भाषा र कथ्यमा बनाउनुभएका तामाङले यो पटक आम नेपाली दर्शकलाई लक्षित गरी नेपाली(खस) भाषामा ल्याइएको स्पष्ट पार्नुभयो ।
निर्देशक तथा नायक तामाङले भन्नुभयो–“यसमा तामाङ गाउँ तेमालका केहि परिवेश पनि छन्, एउटा गीत तामाङ भाषामा छ, कलाकार प्राय तामाङनै छौं त्यसैले तामाङ चलचित्र हैनचाँहि भन्न नमिल्ला तर समग्र विषयबस्तु र भाषा आम नेपालीजनसँग मिल्ने खालकै भएकोले नेपाली चलचित्र भनौं न ।”
चलचित्रको कथाबस्तु त्रिकोणात्मक मायाप्रेमबारे रहेपनि परम्परागत ढर्राबाट अलि भिन्नै रहेको उहाँको दावी छ । उहाँले भन्नुभयो–“चलचित्र ‘ल्हुई ह्रो’ को कथा शैली अलि फरक छ, कथा लेखनमा शेरप तामाङको जुन सोच थियो मलाई मन पर्यो, धनी गरिब बिचको द्धन्दबाहेक केहि नभेटिएजस्तो भइरहेको अवस्थामा राजनीतिक द्धन्दबिच गाँजिएको प्रेमको कुरा छ,जहाँ त्रिकोणात्मक प्रेम कथा छ,जसलाई विद्यमान राजनीतिक परिवेशले असर गरेको छ ।”
नायिका संगीता दोङले चलचित्रप्रति दर्शकले देखाएको मायाप्रति खुसी व्यक्त गर्नुभयो । चलचित्र प्रदर्शनमा तामाङ र अन्य समुदायका दर्शकको बाक्लो उपस्थिति रहेकोप्रति निकै खुसी लागेको नायिका दोङले बताउनुभयो ।
उहाँले भन्नुभयो–“हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरेका छौं,मैले जुन भुमिका निर्वाह गर्न पाएँ,यसप्रति निर्माण टोलीलाई धन्यबाद दिन चाहन्छु, यत्ति धेरै दर्शकको मायाप्रति आभारी छु , दर्शकको उपस्थिति र सल्लाह सुझावले मलाई हौसला मिल्नेछ ।”
मुख्य निर्मात्री सञ्चकुमारी तामाङ(शर्मिला)ले यो चलचित्र छिट्टै आम दर्शकमाझ आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“एउटा गीतमात्रै तामाङमा छ, यो चलचित्र हामी सबै नेपालीले हर्न मिल्नेगरी बनाएका छौं,नेपाली चलचित्र हो,छिट्टै अन्य हलहरुमा पनि प्रदर्शन गर्नेछौं ।”
चलचित्रमा नायकको भुमिकामा निर्देशक स्वयम् विनायक लोप्चन हुनुहुन्छ भने नायिकाको भुमिका संगीता दोङले निभाउनुभएको छ । लोप्चन,दोङका अलावा कुइसाङ रुम्बा,सोनी दोङ,सञ्चकुमारी तामाङ लगायत अन्य दर्जन बढि कलाकारहरुको सशक्त अभिनय छ ।
कालिदेवी मिडिया हाउसको व्यानरमा निर्मित चलचित्रको निर्माणमा सञ्चकुमारीका साथै समिर लामा,ध्रुव छिरिङ तामाङ र शोभितमान लामा पनि हुनुहुन्छ ।
सेरप लोप्चनको कथा तथा रुपेश थिङ र दिपीका लोप्चनले पटकथा र संवाद रहेको यस चलचित्र रेशम दर्लामी मगरले खिच्नुभएको हो,जहाँ राजु किराँतको द्धन्द र सागर लामाको कोरियोग्राफीलाई पनि कैद गरिएको छ ।
चलचित्रमा दुई वटा गीत समावेश गरिएको छ, एउटा शिर्ष गीत ल्हुई ह्रो जुन आधुनिक शैलीको छ । प्रतिक मोक्तानको शब्द र प्रयास दोङको संगीतम रहेको यो गीतलाई सन्तोष लामा र जितु लोप्चनले गाउनुभएको छ ।
अर्को गीत भने तामाङ मौलिक शैलीमै तयार भएको छ । कुमार स्ह्याङबाको शब्द रहेको यो गीतमा शुसन लामाको संगीत छ भने शशिकला मोक्तानले गाउनुभएको हो ।