• नमोबुद्ध संवाददाता

काठमाडौं–कालिदेवी मिडिया हाउसको व्यानरमा निर्मित,विनायक लोप्चन तामाङद्धारा निर्देशित तामाङ कथानक चलचित्र ‘ल्हुई ह्रो’ (लाइफ पार्टनर) यहि ४ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर शो गरिने भएको छ । दिउँसो १ बजे हुने प्रदर्शनको तयारी पूरा भएको निर्देशक विनायकले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रिमियर शो भएकोले सवैसाधारणका साथै चलचित्रकर्मी,पत्रकार,बुद्धिजीवि,विभिन्न संघसंस्थाका प्रतिनिधिलाई समेत ‘ल्हुई ह्रो’ को प्रदर्शन कार्यक्रममा निम्त्याइएको छ ।

आगामी दिनमा ‘लाइफ पार्टनर’ नामाकरणका साथ सबै दर्शकलाई लक्षित गरी नेपाली(खस) भाषामा प्रदर्शन गर्ने मनस्थितिमा रहेका निर्माण टोलीले शनिबारको पहिलो शोलाई भव्य बनाउने तयारी गरेको हो ।

निर्माण टोलीले चलचित्र ‘ल्हुई ह्रो’ लाई नेपाली(खस) भाषामा डबिङ गरिएतापनि तामाङ कथानकनै रहेको स्पष्ट पारेको छ ।
निर्देशक तामाङले भन्नुभयो–“यो तामाङ चलचित्र नै हो यद्यपी यसलाई हामीले सबै नेपाली दर्शकमाझ पुर्याउन नेपालीमा समेत डबिङ गरेका छौं,यहाँहरुको सल्लाह सुझाव अनुसार अन्य हलहरुमा पनि प्रदर्शन गर्ने तयारीमा लाग्नेछौं ।”

चलचित्रको कथाबस्तु परम्परागत ढर्राबाट अलि भिन्नै रहेको उहाँको दावी छ । उहाँले भन्नुभयो–“चलचित्र ‘ल्हुई ह्रो’ को कथा शैली अलि फरक छ, शेरप लोप्चनले जुन सोचका साथ कथा लेख्नुभयो मलाई मन पर्यो, धनी गरिब बिचको द्धन्दबाहेक केहि नभेटिएजस्तो भइरहेको अवस्थामा प्रेमलाई राजनीतिसँग जोडिएको छ, तामाङ समुदायका युवाहरुबिचको प्रेम सम्बन्ध तथा तिनैको द्धन्दमाथि तयार भएको हो,जहाँ त्रिकोणात्मक प्रेम छ,जसलाई विद्यमान राजनीतिक परिवेशले असर गरेको छ ।”

नायिका संगीता दोङले पनि चलचित्र राम्रो बनेको दावी गर्दै दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरेका छौं,मैले जुन भुमिका निर्वाह गर्न पाएँ,यसप्रति निर्माण टोलीलाई धन्यबाद दिन चाहन्छु, दर्शकको सल्लाह सुझावले मलाई हौसला मिल्नेछ ।”

मुख्य निर्मात्री सञ्चकुमारी तामाङ(शर्मिला)ले यो चलचित्र निर्माणमा १६ लाख रुपैयाँ लगानी भईसकेको जानकारी दिनुहुदै विनायक लोप्चन,संगीता दोङहरुको टिमको कामको परिणाम राम्रै आउने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रमा नायकको भुमिकामा निर्देशक स्वयम् विनायक लोप्चन हुनुहुन्छ भने नायिकाको भुमिका संगीता दोङले निभाउनुभएको छ । लोप्चन,दोङका अलावा कुइसाङ रुम्बा लगायत अन्य दर्जन बढि कलाकारहरुको सशक्त अभिनय यस चलचित्रमा देख्न सकिनेछ ।

चलचित्रको निर्माणमा सञ्चकुमारीलाई समिर लामाले सघाउनुभएको छ,जहाँ कार्यकारी निर्माता भने ध्रुव छिरिङ तामाङ र निर्माण सहयोगीमा शोभितमान लामा हुनुहुन्छ ।

सेरप लोप्चनको कथा तथा रुपेश थिङ र दिपीका लोप्चनले पटकथा र संवाद रहेको यस चलचित्र रेशम दर्लामी मगरले खिच्नुभएको हो,जहाँ राजु किराँतको द्धन्द र सागर लामाको कोरियोग्राफीलाई पनि कैद गरिएको छ ।

चलचित्रमा दुई वटा गीत समावेश गरिएको छ, एउटा शिर्ष गीत ल्हुई ह्रो जुन आधुनिक शैलीको छ । प्रतिक मोक्तानको शब्द र प्रयास दोङको संगीतम रहेको यो गीतलाई सन्तोष लामा र जितु लोप्चनले गाउनुभएको छ । अर्को गीत भने तामाङ मौलिक शैलीमै तयार भएको छ । कुमार स्ह्याङबाको शब्द रहेको यो गीत शशिकला मोक्तानले गाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !