• नमोबुद्ध संवाददाता :

काठमाण्डौं–सङ्खुवासभाका स्रष्टा दाजु गुरुङको कथा–सङ्ग्रह ‘टाँकीका फूलहरू’ को तेस्रो संस्करण बजारमा आएको छ । डायास्पोरिक स्वाद मिसिएका उहाँका कथाहरूको सङ्ग्रह ‘टाँकीका फूलहरू’ प्रकाशनको पाँच महिनाभित्रै तेस्रो संस्करण आएको हो ।

संभवतः डायास्पोराबाट प्रकाशित कृतिमध्ये यो पहिलो कृति हो, जो पाँच महिनाभित्रै तेस्रो संस्करण आउन सफल भएको मानिएको छ ।

आफ्नै गृहजिल्लामा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका स्रष्टा गुरुङ उत्तिकै राम्रा कविता पनि लेख्नुहुन्छ । यो पटक भने उहाँ कथा लेखनतीर केन्द्रित हुनुभएको छ ।

कथा–सङ्ग्रहको यो पुस्तकमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएका कथा छन् । जसमा ‘आरम्भ’, ‘मेरो छिमेकी र रोक्सी’, ‘हराएको मान्छे’, ‘मोनिका’, ‘बिर्सिएको साँझ’, ‘मिलेनियम’, ‘ब्याज’, ‘मुन्ना चौधरी’, ‘सतासी मामा’, ‘सुनाखरी ओइलाएपछि’, ‘चोइ–साम’, ‘मङ्की हिल’, ‘मौइसी’, ‘सरी’, ‘मर्निङ वाल्क’, ‘बाटो बिराएको मान्छे’ गरी १७ वटा कथा समाविष्ट छन् ।

कथामा गुरुङले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको सङ्घर्षका साथै पात्रका मानसिक उत्तारचढाव र मनोविज्ञानलाई कथामा मिहिन ढङ्गले बुन्नुभएको स्रष्टा एवम् प्राज्ञ शशी लुमुम्बूले जनाउनुभयो ।

टाँकीको फूलको बिम्बमार्फत उहाँले हङकङ डलर कमाउने ध्याउन्नमा दिनरात पसिना बगाइरहेका पात्रहरूका कथा उधिन्नुभएको छ ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस !