- नमोबुद्ध संवाददाता :
धुलिखेल–काभ्रेको खानीखोला गाउँपालिकास्थित कुमारी माध्यमिक विद्यालयले ८ कोठे भवन पाएको छ ।
नेपाल सरककार पुननिर्माण प्राधिकरण(शिक्षा इकाई) को करीव डेढ करोड बजेटमा निर्मित विद्यालय भवन बिहिबार ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हस्तान्तरण गर्नुभयो ।
फोटो : बुद्ध लोप्चन
हस्तान्तरण कार्यक्रममा मन्त्री दुलालले मुलुकका सबै क्षेत्रको नेतृत्व सामुदायिक विद्यालयबाट उत्पादित व्यक्तिहरुबाट नै भएको उल्लेख गर्दै सामुदायिक विद्यालयको बिकासमा सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“सामुदायिक विद्यालयबाट उत्पादन भएकाहरुबाटै सबै क्षेत्रको नेतृत्व गरिरहेको हामीले देख्न सक्छौँ, तसर्थ सामुदायिक विद्यालयलाई नराम्रो भन्ने होइन, राम्रो बनाउने हो,साुमदायिक विद्यालयलाई भौतिक र बौद्धिक रुपमा अझ सक्षम बनाउन जरुरी छ ।”
फोटो : बुद्ध लोप्चन
मन्त्री दुलालले अब डाँडापारीमा पनि नमुना शैक्षिक संस्था हुनुपर्ने बताउनुभयो । मन्त्री दुलालले अन्य विद्यालयलाई हेरेर भन्दा आफ्नै मौलिक शैलीमा नमुना विद्यालय बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–“नमुना विद्यालय अरुको हेरेर बनाउने होइन, कुनै विद्यालयलाई हेरेर तपाईले नमुना विद्यालय बनाउन खोज्दै हुनुहुन्छ भने तपाईले उसको विद्यालयको संरचना निर्माण गरुन्जेल उसले अर्कै बनाइसक्छ, तपाईको विद्यालय नमुना बन्न सक्दैन,नमुना अरुको हेरेर होइन, आफैँले बनाउने हो ।”
पक्की भवन पाएसँगै विद्यालयको पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक होम बहादुर वाईबाले बताउनुभयो ।