• नमोबुद्ध संवाददाता :

धुलिखेल–भौतिक विकासका दृष्टिले विकट मानिएको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको जगथलीसम्म सार्वजनिक बस सेवा सञ्चालनमा आएसँगै स्थानिय खुसी छन् । गाउँसम्म सरर बस सञ्चालन भएपछि स्थानीय हर्षित् बनेका हुन् । केही ठाउँमा बाटो स्तरोन्नती गरेपछि हिउँद बर्खानै नियमित बस सञ्चालन हुने जानकारी दिइएको छ ।

सहजै यातायातको सुविधा नभएकै कारण डाँडापारीका हजारौं जनताले सदरमुकाम धुलिखेल तथा प्रसासनिक केन्द्रमा आउजाउ गर्न निकै सास्ती खेप्दै आएका थिए,सार्वजनिक बसनै सञ्चालनमा आएपछि स्थानियले यस समस्याबाट अहिले मुक्ति पाएका छन्, अब यो सेवा स्थायि होस् भन्नेमा जोड दिन्छन् उनिहरु ।

वर्षौंको प्रयासपछि खानीखोला गाउँपालिका वडा नं. ४ जगथलीलाई यातायात सञ्जालमा जोड्न सकेको गाउँपालिका प्रमुख कृष्ण खुलालले बताउनुभयो ।

गाउँपालिकाले सार्वजनिक बस सेवाका साथै एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले झण्डै ११ लाख बराबरमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

अकालमा कोही कसैले ज्यान गुमाउन नपरुन् भनेर जनताको स्वास्थ्यप्रति आफू निकै गम्भीर बनेको उहाँको भनाई छ ।

फोटो : बुद्ध लोप्चन

बिहिबार बस तथा एम्बुलेन्स सेवाको उद्घाटनका क्रममा ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले भन्नुभयो–“यि आधारभूत सुविधाहरुबाट अब डाँडापारीवासी विमुख हुनुहुन्न,३ नम्बर प्रदेशका स्थानीय तहहरुमध्ये खानीखोला र महाभारत गाउँपालिका विकासको पहिलो हकदार हुन्,त्यसै अनुसार जनप्रतिनिधिको भुमिका आवश्यक छ ।”

उहाँले ३ नम्बर प्रदेशका बटम १० विकट गाउँपालिकाहरुको नाम निकाल्दा खानीखोला र महाभारत गाउँपालिका पनि परेको जानकारी दिनुभयो । उहाँको प्रतिवद्धता छ–“अब यी दुइ वटै गाउँपालिकालाई विकसित बनाउन हामी लागि पर्छौ ।”

प्रदेश सांसद्द्धय चन्द्र लामा र रत्न ढकालले चुनावमा गरेका प्रतिबद्धता मध्ये यातायात मुख्य रहेकोले यसमा आफूहरुको ध्यान गएको बताउनुभयो ।

गाउँपालिका,प्रदेश र संघीय सरकारबिचको समन्वयकारी भुमिकाबाट डाँडापारीका हरेक समस्या चिर्न सकिने सांसद द्धयको भनाई छ । आफूहरुले चुनावका बेला व्यक्त गरेका सबै प्रतिवद्धता पूरा गर्ने उहाँहरुको वचन छ ।

प्रतिक्रिया दिनुहोस !