
- नमोबुद्ध संवाददाता
काठमाण्डौं– विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू शानका पात्रका रुपमा हेरिने वा देखिने गरेतापनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकता चाहिँ कस्तो थियो र रहेको छ ? यसै विषयलाई कथाको विषय बनाएर युद्धसाहित्यका प्रवर्तक काङमाङ नरेश राईले युद्धकथा सङ्ग्रह ‘एघार नोभेम्बर’ प्रकाशनमा ल्याउनुभएको छ ।
यसअघि ‘युद्ध बोकेको सिताङ’ उपन्यास र ‘खुकुरीको धारमा’ नामक लाहुरेका युद्ध–अनुभवकथा र ‘पप्पफूल’ कविता सङ्ग्रह प्रकाशित गर्नुभएका राईले पुनः यथार्थको आख्यान लिएर आउनुभएको हो ।
ब्रिटिस गोर्खा सेनाबाट अवकाश प्राप्त कथाकार राईको कथासङ्ग्रह ‘एघार नोभेम्बर’ भित्र ‘तक्मा’, ‘कान्ते अर्थात् क्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात वटा कथा अटेको साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो ।
युद्धसाहित्यको अध्ययन, लेखन र प्रर्वद्धनमा समेत लागेका राईको कथा सङ्ग्रह फिनिक्स बुक्सले छापेको हो ।
उहाँको यसअघि प्रकाशित ‘खुकुरीको धारमा’ नामक पुस्तक निकै चलेको मानिन्छ । यो पुस्तक ‘फियरलेस वरिवर’ नामबाट अनूदित भई बेलायतको ओलम्पिया प्रकाशन गृहबाट समेत प्रकाशित भईसकेको छ ।