- नमोबुद्ध संवाददाता
काठमाण्डौं–नेपाल प्रज्ञा–प्रतिष्ठान,दमक नगरपालिका र दमक प्रज्ञा–प्रतिष्ठानले संयुक्तरूपमा झापाको दमकमा ‘एक नम्बर प्रदेशस्तरीय त्रि–दिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी’ आयोजना गर्दैछन् । उक्त सङ्गोष्ठीको सबै तयारी पूरा भएको नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले दमकबाट जानकारी दिनुभयो ।
सङ्गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विशिष्ट आतिथ्यतामा चैत १७ गते समुद्घाटन गरिनेछ । एक नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधि स्रष्टाहरूको सहभागितामा सोही दिन विशेष काव्य गोष्ठी पनि हुनेछ ।
दोस्रो दिन ‘किरात मुन्धुम’, ‘कोसी प्रस्रवण क्षेत्रको हिमाली जनजीवन’, ‘कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू’, र ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गरिने छन् ।
अन्तिम दिन ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’ र ‘धिमाल लोकसाहित्यका विशेषताहरू’ विषयक दुई कार्यपत्रमाथि घनिभूत छलफल हुने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशि लुमुम्बुले जनाउनुभयो ।
उहाँका अनुसार सङ्गोष्ठीको दोस्रो र तेस्रो(अन्तिम) दिन विभिन्न कार्यपत्रको प्रस्तुतीकरण तथा छलफलका साथै गजल सन्ध्या र विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुनेछन् ।