• नमोबुद्ध संवाददाता

बनेपा–स्थापनाको ३८ वर्षमा बनेपा नगरपालिकाको कार्यालयले औपचारिक रुपमा पहिलो पटक बिहिबार आफ्नो स्थापना दिवस मनाएको छ ।

काभ्रे तथा मध्य पहाडी क्षेत्रको व्यापारिक नगरीको रुपमा स्थापित नगरले नगर प्रमुख(मेयर) लक्ष्मी नरसिं वादेको सभापतित्वमा सञ्चार तथा सुचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

नगरले बाजागाजा सहितको प्रभातफेरि तथा विविध साँस्कृतिक झाँकीको प्रस्तुतीका साथ नगर विकासका अभियन्ताहरु,जनप्रतिनिधिहरु,कर्मचारीहरु,सेवाग्राहीहरुको उपस्थितीमा यसअघि सम्पादित कार्यको समिक्षा तथा नगरको भावी विकासका कार्यक्रमबारे चिन्तन मनन गर्ने अवसरको रुपमा यो दिवसलाई लिएको जनाएको छ ।

यहि अवसरमा बनेपालाई बिहिबारनै साक्षर नगर घोषणा गरिएको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार ५५ हजार ५ सय ६ जनसंख्या रहेको बनेपामा (१५–६०) वर्ष उमेर समुहका ५९ हजार १ सय २८(९७.०९%) जनसंख्या साक्षर भएको तथ्यांक सार्वजनिक गर्दै साक्षर नगर घोषणा गरेको हो ।

अन्तराष्ट्रिय मान्यता अनुसार मानव विकासको महत्वपुर्ण सुचकांकको रुपमा साक्षरतालाई हेरिन्छ ।

अब काम गर्ने बेला आयो : मन्त्री बाँस्कोटा

नगर स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अब विकासका कामले गति लिने बताउनुभयो ।

उहाँले भन्नुभयो–“दशकौ वर्षपछि स्थानिय तहको निर्वाचनपछि जनप्रतिनिधिले पहिलो वर्ष अनुभव लिए,अबको वर्ष काम गर्ने वर्ष हुनुपर्छ,कुनै बहानाबिना काम गर्ने बेला आएको छ ।”

बनेपा नगर काभे्रको शानको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“यहाँ अरनिको राजमार्ग छ,व्यापारिक केन्द्र छ,त्यसैले अरु जिल्लावासीको समेत प्रत्यक्ष सम्पर्क बनेपासँग छ,यसलाई हेरेर काभ्रे जिल्ला प्रतिको दृष्टिकोण निर्माण हुने भएकोले बनेपा नगरलाई चुनौती पनि छ ।”

सरकारले काठमाण्डौं–बनेपा धुलिखेल सम्मको मेट्रो रेलवे सेवा,काभ्रे उपत्यका खानेपानी,एयरपोर्ट निर्माण जस्ता बनेपा क्षेत्रले ठूलो लाभ हाँसील गर्नसक्ने योजना अघि सारेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँले काठमाण्डौंमा हुने लगानी सम्मेलनप्रति विश्वकै ध्यान गएको उल्लेख गर्दै त्यसमा काभ्रे जिल्लाले गौरव गर्ने योजनाहरु अघि सार्ने स्पष्ट पार्नुभयो । त्यसमा सुनकोशी जलविद्युत आयोजना लगायत रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधीसभा सदस्य(सांसद) नविना लामाले बनेपालाई विश्व साँस्कृतिक केन्द्रको रुपमा विकास गर्ने अवसर रहेको बताउनुभयो ।

संघ,प्रदेश र स्थानिय तहबिचको सहकार्यबाट यस्ता नमुना योग्य कामहरु सम्भव रहेको उहाँको भनाई छ । बनेपाको फोहोर व्यवस्थापन लगायतका आधारभूत कामहरु बनेपा नगरका लागि चुनौती बन्न नहुने उहाँले बताउनुभयो ।

बनेपा विकासले गति लिएको छ : मेयर वादे

बनेपा नगरका मेयर लक्ष्मी नरसिं वादेले छोटो समयमा बनेपा नगरमा विकासले गति लिएको दावी गर्नुभयो । स्थपनाका बखत मानव शंसाधन,पुर्वाधारमा शुन्यको स्थिती रहेको नगरमा अहिले शैक्षिक,भौतिक,स्वास्थ्य क्षेत्रमा विकास भएको बताउनुभयो ।

समारोहमा मेयर वादेद्धारा व्यक्त आफ्ना पालामा गर्नुभएका बनेपा विकासका प्रगति वुदागत रुपमा निम्न छन् :

१.१४ वटै वडा कार्यालय सञ्चालन,कर्मचारी परिचालन गरिएको छ ।

२.७ वटा ऐन,८ वटा कार्यविधि कनाई तिनको कार्यान्वयन थालिएको छ ।

३.काभ्रे एकिकृत खानेपनी अघि बढेको छ ।

४.पुण्यमाता नदी करिडोर निर्माण कार्य अघि बढाएको,त्यसको डिजिटल सिस्टममा सिमांकन गरिएको छ ।

५.बैकल्पीक बाटाहरु निर्माण थालिएको छ ।

६.अरनिको राजमार्ग सौन्दर्यकरण थालिएको,यसका लागि वषौंदेखी हटाउन नसकिएका पुराना संरचनाहरु पन्छाइएको छ ।

७.राजश्व परिचालन तथा संकलनमा आशातीत सफलता हाँसील गरेको छ ।

८.भवन आचार संहिता निर्माण गरि कार्यन्वयन थालिएका छ ।

९.धार्मिक,पर्यटन क्षेत्रको विकास अघि बढेको छ ।

१०.नगरलाई साक्षर घोषणा गर्न सफल भएको छ ।

११.मोतिया विन्दुको निशुल्क उपचार थालिएको छ ।

१२.फोहोर मैला व्यवस्थापनका लागि १४ रोपनी जग्गा लिइएको छ ।

१३.खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएका छौं ।

१४.अन्तराष्ट्रिय साँस्कृतिक केन्द्र स्थापनाका लागि कुईकेल गाउँमा सम्भाव्यता अध्ययन सम्पन्न गरेका छौं ।

१५.कृषि विद्यालयको अवधारणा अनुसार साँगामा तिनको सम्भावता सम्पन्न भएको छ ।

१६.आन्तरिक आम्दानीका लागि स्रोत पहिचान थालिएको छ, आसापुरीमा एउटा ढुंगा खानी सञ्चालनमा ८० लाखको टेण्डर सम्झौता भएको छ ।

कार्यक्रममा नगरका उपप्रमुख(उपमेयर) तथा न्यायिक समितिका प्रमुख रेखा दाहालले नगरमा न्यायिक समिति सक्रियताका साथ लागेको बताउनुभयो । जनसहभागितामा गरिने विकास निर्माणमा विश्वास राख्नेमा बनेपा नगर रहेको उल्लेख गर्दै उहाँले सरकारका विधि प्रक्रिया अनुसार न्यायिक समितिले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

नगरभित्र महिला उद्यमशिलताका लागि जीविकोपार्जनका थुप्रै कार्यक्रमहरु गरेको जानकारी दिदै उहाँले ति कार्यक्रमहरु फलदायी बन्दै गएको दावी गर्नुभयो ।

स्थापना दिवसको अवसरमा नगरका संस्थापक मेयर डाक्टर सुरेन्द्र वादे,स्थानिय सँस्कृतिविद् ज्ञानकाजी मानन्धर,उत्कृष्ठ विद्यालय,शिक्षक,विद्यार्थी,जेष्ठ नागरिक लगायतलाई सम्मान पनि गरिएको छ ।

 

कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सञ्चार विज्ञ सुरेश हुमागाई,प्रदेश सांसदहरु बसुन्धरा हुमागाई,रत्न ढकाल,चन्द्र लामा,मण्डान देउपुर नगरका प्रमुख टोक बहादुर वाईबा,पनौती नगरका प्रमुख भिम न्यौपाने,उपप्रमुख गीता बञ्जारा,नमोबुद्ध नगरका प्रमुख टिपी शर्मा लगायतका जनप्रतितिधिका साथै नेकपाका नेता हरिदेव गिरी,लम्बोदर कायस्था,मुक्ति विष्ट,पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सीना,तत्कालिन युवा संघका केन्द्रिय सदस्य राकेश लामा,बनेपा नगरका प्रेस संयोजक लक्ष्मण तिमल्सीना,स्थानिय उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु,पत्रकाहरु लगायत समेत सहभागि भए ।
थप फोटो फिचर

 

 

प्रतिक्रिया दिनुहोस !