
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–आउँदो शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी गराउँदै सम्मेलनमा ४० देशबाट प्रतिनिधि आउने बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा ६ सय बढीले सहभागिता जनाउने छन् । दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । साथै सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ ।
सम्मेलनलाई लक्षित गर्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको छ
सम्मेलन हुनु राम्रो हो : उद्योगी व्यवसायी
अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागि उद्योगी, व्यवसायीहरुले काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्नु राम्रो रहेको प्रतिक्रिया जनाएका छन् । उनिहरुले भनेका छन् –“लगानी सम्मेलनलाई सकारात्मक रुपमा लिनु पर्छ,निजी क्षेत्रलाई पनि राम्रो कुरा हो ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अहिले नेपालमा लगानीको वातावरण बनेकाले सम्मेलनका लागि निजी क्षेत्र पनि उत्साहित रहेको धारणा राख्नुभयो ।
निजी क्षेत्रले यसलाई सकारात्मक रुपमा सहयोग गर्ने उहाँको प्रतिवद्धता छ । उहाँले भन्नुभयो–“सबैले सफल बनाउन लागि पर्नु पर्छ ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलन आयोजना गर्नु सकारात्मक रहेको बताउनुभयो ।