- नमोबुद्ध संवाददाता
धुलिखेल–भाषा परीक्षाको तयारी गरिरहेका युवाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन फाराम भर्न सुरु गरेका छन् । आवेदन गएराति १२ बजेबाट खुला भएकोले हजारौं युवाले परीक्षाको फाराम भर्न सुरु गरिसकेका हुन् ।
कोरिया नेपाली युवाका लागि रोजगारको आकर्षक गन्तव्य बनेकोले फाराम भर्ने युवाहरु यो पटक पनि उत्तिकै देखिएका छन् ।
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाले जनाएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा,ग्लोबल अनलाइन, ग्लोबल स्मार्ट, आइएमई–पे, फोन–पे लगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने शाखाले जनाएको हो ।
गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताउनुभयो ।
आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपीएस कोरिया शाखाको वेबसाइट भयभचक।भउकलभउब।िनयख।लउ लग–इन गरी लिन सकिनेछ ।