• नमोबुद्ध संवाददाता

काठमाण्डौं–असन्तुष्टिकै बिच राष्ट्रियसभाको शुत्रबारको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव गर्नुभएकोमा सभा बैठकले बहुमतले पारित गरेको हो ।

पारित अघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संशोधन पनि भएर आएको र आवश्यक परे भविष्यमा संशोधन गर्न सकिने भएकाले विधेयक पारित गरी सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

संयुक्त संसोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौँ नेपालीको रोजीरोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गर्नुभएको थियो ।

कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजीरोटी खोसिने भन्दै ७ नम्बर अनुसुची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उहाँले संसोधन दर्ता गराउनुभएको थियो ।

विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्री लगायत साना साना उद्योग व्यवसायलाई नकारात्मक लिस्टमा राखी ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !