• नमोबुद्ध संवाददाता

काठमाण्डौं– नागरिकता सम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन उपसमिति बनाएको छ । अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय सहमति जुटाउन र प्रतिवेदन दिन बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले ९ सदस्यीय उपसमिति बनाएको हो ।

उपसमितिमा नेकपाका यशोदा सुवेदी, नवराज सिलवाल र लक्ष्मी चौधरी, नेपाली काँग्रेसका देवेन्द्रराज कँडेल र मीना पाण्डे, संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव, राजपाका राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सदस्य छन् ।

उपसमितिले १४ दिनभित्र विवादित विषयमा सहमति सहितको प्रतिवेदन बुझाउनुपर्नेछ । तराई–मधेसकेन्द्रित दलका सांसदहरुले नेपालमा विवाह गरी आउने विदेशी बुहारीलाई अहिलेझैं तत्कालै नागरिकता दिनुपर्ने व्यवस्था राख्न भनेका छन् भने अरू दलले त्यसमा केही वर्षको सीमा राख्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !